नेवाः देय् दबूमा आर्थिक विवाद
SamacharDesk – सोसियल ब्यूरो | २०७६ बैशाख १३, शुक्रबार

नेवाः समुदायको राष्ट्रिय संगठन नेवाः देय् दबूको आर्थिक विवाद देखिएको छ । दबूकी कोषाध्यक्ष अंजिता खड्गीलाई पद हेरफेर भन्दै कोषाध्यक्ष पदबाट हटाएर केन्द्रीय सदस्यमा बनाएसँगै दबूको आर्थिक विवाद सतहमा आएको हो ।
गत फागुन २५ गते धनगढीमा सम्पन्न दबूको चौथो केन्द्रीय समितिको वैठकले पद हेरफेर भन्दै कोषाध्यक्ष पदमा अन्जिता खड्गीलाई हटाई शान्त श्रेष्ठलाई राख्ने निर्णय भएको थियो ।
आर्थिक व्यवहार व्यवस्थित बनाउनुपर्ने भन्दै अध्यक्षलाई मनपरि गर्न नदिएकै कारण आफुलाई पदबाट हटाईएको खड्गीको आरोप छ ।
कुनै किसिमको सहयोग वा अन्य शिर्षकमा खर्च गरिँदा सचिवालय वैठकबाट पारित गरिनुपर्ने, २५ हजार भन्दा माथिका खरिदमा कोटेशन माग गरिनुपर्ने विषय आफुले भन्दै आएकोमा अध्यक्षले मनपरि ढंगबाट सहयोग रकम भन्दै खर्च गर्ने गरेको र जुनसुकै खरिदमा पनि चिनेजानेको भरमा जथाभावि रकम खर्च गर्ने गरेको खड्गीको भनाई छ ।
रु. १० हजारसम्मको खर्च अध्यक्षलाई अख्तियारी दिइएकोमा पनि अध्यक्षबाट यसको दुरुपयोग भइरहेको आरोप पनि खड्गीको रहेको छ । अध्यक्षले रु.१० हजार कति पटकसम्म दिन सक्ने भनी संख्या तोक्नुपर्ने भन्दा पनि अध्यक्षले आफ्नो भनाईप्रति आपत्ती जनाएको खड्गीले बताइन् ।
यसैबीच, आफुलाई विना कुनै जानकारी र कारण कोषाध्यक्ष पदबाट हटाईएको भन्दै खड्गीले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी दिएकि छन् ।
खड्गीको उजुरीपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यथार्थ विवरण सहित स्पष्टिकरण दिन भन्दै दबूका अध्यक्ष नरेश ताम्रकारको नाममा पत्र काटेको छ ।
आफु नेवाः देय् दबूको केन्द्रीय कार्यसमितिमा व्यक्तिगत रुपमा नरही सम्पूर्ण खड्गी समुदायको प्रतिनिधित्व गर्दै नेपाल खड्गी सेवा समितिको प्रतिनिधिको रुपमा रहेको भन्दै दबूका अध्यक्ष नरेश ताम्रकारले यस विषयमा सम्पूर्ण खड्गी समुदायको साथमा नेवाः समुदायलाई समेत स्पष्ट जवाफ दिनुपर्ने बताइन् ।
Categorized in समाज