‘उपमेयरको चुनाव जितेर मेयर बनिन्न’
SamacharDesk – सोसियल ब्यूरो | २०७६ बैशाख १४, शनिबार

सभासद् जीवनराम श्रेष्ठले उपमेयर पदमा निर्वाचन जितेर मेयर बन्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सभासद् श्रेष्ठले काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आफु उपमेयर हो भन्ने बिर्सेर मेयर नै भन्ठान्ने हो कि भन्ने भान हुने बताउनुभयो ।
मेयर खुलामञ्चको प्रतिवेदन कुरेर बस्ने र अनुगमन गरेर प्रतिवेदन बुझाउने जिम्मा लिएका उपमेयर भने खुलामञ्चमा उफ्रिन गइरहने प्रवृत्तीको अन्त्य हुनुपर्ने श्रेष्ठको भनाई थियो ।
‘मेयरले रानीपोखरी बनाउन खोज्दा उपमेयरले तालाबन्दी गरिदिने, मेयरले खुलामञ्चको अनुगमन गरी प्रतिवेदन बुझाउन जिम्मा दिँदा, खुलामञ्चको प्रदर्शनमा गई मेयरलाई दोष दिएर भाषणबाजी गर्ने काम बन्द हुनुपर्यो ।’ श्रेष्ठको भनाई थियो । ‘जनप्रतिििनधिले व्यक्तिगत पूर्वाग्रह, पार्टिगत स्वार्थबाट माथि उठेर महानगरको हितमा लाग्नुपर्यो ।’
सोही कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं भित्रका ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक महत्वका सम्पदाहरुको पुनर्निर्माण, जिर्णोद्धारको लागि कामपा तयार रहेको भन्दै त्यस्ता सम्पदाको संरक्षणको लागि सहयोग गर्न जनसमुदायलाई आव्हान गर्नुभयो ।
‘काम गर्नेहरुलाई काम गर्दैमा फुर्सद हुन्न, आलोचना गर्नेहरु, कुरा गर्नेहरुसँग पो समय नै समय छ । आवश्यक कार्यक्रमको लागि सुझाव लिएर आउनुस्, म तयार छु ।’ मेयर शाक्यको भनाई हो ।
महानगरको नयाँ बजेट बनाउने काम भइरहेको अवस्थामा आवश्यक सुझावको लागि पनि मेयर शाक्यले महानगरवासीलार्इृ अनुरोध गर्नुभयो ।
यसैगरी काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले समन्वयको अभावमा महानगरका धेरै गतिविधिहरुमा कमजोरी भइरहेको बताउनुभयो । महिलालाई परिवारले अगाडी बढ्नका लागि स्वतन्त्रता दिने हो भने महिला प्रधानमन्त्रीसम्म पनि बन्न सकिने उपमेयर खड्गीको भनाई थियो ।
ताहाननि दापा खलः, ताहाननि मिसा पुचः र ताहाननि यूवा समूहको संयुक्त आयोजनामा भएको दोश्रो ज्येष्ठ नागरिक विशेष सम्मान कार्यक्रममा २४ वडाका ८८ वर्ष पुगेका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा दापा खलःका अध्यक्ष दिनेशमान डंगोलले ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाउनुभयो भने यूवा समूहका उपाध्यक्ष मचाराजा महर्जनले फुलमाला लगाइ दिए । मेयर शाक्यले मायाको चिनो प्रदान गर्नुभयो । स्थानीयावासीले पनि स्वस्फुर्तमा रुपमा विभिन्न उपहारहरु दिएर ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए ।
मन्तव्यकै क्रममा सभासद् रामबीर मानन्धर र प्रदेश ३ का सभासद् राजेश शाक्यले ज्येष्ठ नागरिकको सम्मान भनेको ईतिहासको सम्मान भएको बताए । आफ्नो मौलिक पहिचानको संरक्षणको लागि ज्येष्ठ नागरिकको समाजमा योगदानलाई बिर्सन नहुनेमा सभासदद्वयले जोड दिएका थिए ।
