arin enterprises

विश्व रक्तदाता दिवस मनाईँदै

SamacharDesk – बिराज | २०७८ जेठ ३१, सोमबार

आज जुन महिनाको १४ तारीख, विश्व रक्तदाता दिवस । रक्तदान सम्वन्धि विभिन्न जनचेतनामूलक सन्देश प्रवाह गर्दै यो दिवस मनाउने गरिन्छ ।

आजको दिन विशेष गरेर रक्तदान कार्यक्रमहरुको आयोजना हुने गर्दछ । दिवसका लागि यस वर्ष ‘सेवाले रक्तदान गरौं र संसारलाई चलायमान बनाऔं’ भन्ने नारा तोकिएको छ ।

नेपालमा संक्रमणको जोखिमका बीच स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रमहरु पनि भइरहेका छन् ।

कोभिड संक्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी रहँदा रक्तदाताहरु घरमै थुनिएर बस्न बाध्य छन् । यस्तो अवस्थामा विरामीलाई आवश्यक पर्ने रगतको अभाव देखिरहेको छ ।

त्यसैले पनि महामारीको वर्तमान परिवेशमा यो दिवसको महत्व झन बढेको छ ।

चिकित्सकहरुको भनाई अनुसार सामान्य अवस्थाको स्वस्थ व्यक्तिले हरेक तीन महिनामा फरकमा रक्तदान गर्दा शरिरमा कुनै पनि प्रकारको हानी हुँदैन । १८ देखि ६५ बर्ष उमेर समूहका व्यक्तिहरु रक्तदानको लागि योग्य रहेको विज्ञहरुले भनेका छन् ।

यसैगरी रक्तदान सम्वन्धि विभिन्न जनचेतनामूलक विषयवस्तुमाथि सम्वाद र भर्च्युअल अन्तरक्रिया कार्यक्रमहरु पनि भएका छन् ।

मानव जीवन रक्षाका लागि रक्तदानको महत्वको विषयमा जनचेतना जगाउने उद्देश्यले आज पनि भर्च्युअल सम्वान एवम् अन्तरक्रिया कार्यक्रमहरु भएका छन् ।

विश्वमा संक्रमणको डरत्रास नभएका स्थानहरुमा भने निर्वाध सार्वजनिक कार्यक्रम आयोजना भएका छन् ।

विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाईँदै आएको छ । मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिनको दिन पारेर यो दिवस मनाउने गरिएको हो । 

Categorized in समाज