arin enterprises

परिक्षणको २१ प्रतिशतमा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७८ श्रावण ४, सोमबार

नेपालमा कोरोना संक्रमणको अवस्था अझै नियन्त्रणमा आउन सकेको देखिएको छैन । संक्रमण दरमा कमी देखिएको भन्दै निषेधाज्ञा खुकुलो बनाउँदै लगिएपनि दैनिक २० प्रतिशतको हाराहारीमा नयाँ संक्रमित थपिने क्रम भने जारी नै छ ।

पछिल्लो २४ घण्टामा गरिएको कोरोना परिक्षणमा पनि २१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जम्मा ११ हजार ६६४ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

७ हजार ८३३ आरटी पिसिआर परिक्षणमा एक हजार ६४२ जना र ३ हजार ८३१ एन्टिजेन परिक्षणमा ८०३ जनामा संक्रमण देखिएको हो ।

तीमध्ये ४२ जना १० वर्षसम्मका बालबालिका छन् भने १३५ जना ११ देखि २० वर्ष उमेर समूहका छन् । नेपालमा हालसम्म ७ लाख १८ हजार ४९४ जना कोभिड १९ बाट संक्रमित भइसके ।

गएको २४ घण्टामा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार २५८ मात्र रहेको छ । हालसम्म ६ लाख ३३ हजार ३३२ जना संक्रमित संक्रमण मुक्त भइसके ।

हाल २५ हजार ८३७ जना सक्रिय संक्रमित उपचाररत छन् । २३ हजार ३३४ जना संक्रमित होम आइसोलेसनमा छन् भने २ हजार ५०३ जना संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

५६४ जना आइसीयूमा छन् भने तीमध्ये १५५ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

थप ३२ जना कोभिड संक्रमितको मृत्यु भएको छ । कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ ।

Categorized in राष्ट्रिय