arin enterprises

मनोरञ्जन क्षेत्रमा न्युन पारिश्रमिकमा श्रम र बौद्धिक सम्पत्तिको प्रयोग

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण ४, सोमबार

मनोरञ्जन क्षेत्रमा न्युन पारिश्रमिकमा श्रम र बौद्धिक सम्पत्तिको प्रयोग भएकोप्रति श्रमिकहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

आज काठमाडौँमा विश्वाश नेपालले आयोजना गरेको ‘मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरुको नीतिगत सवालमा काठमाडौँ महानगरपालिका र ट्रेड युनियनहरुबिच छलफल’ कार्यक्रममा श्रमिकहरुले आफ्ना दुःख सुनाउँदै सराकोरवालाको ध्यान आकृष्ट गरेका हुन् ।

छलफलमा डान्स, दोहोरी र क्याविन रेष्टुरेन्ट तथा साना होटलका श्रमिकका विषयलाई केन्द्रीत गरिएको थियो ।

कार्यक्रमका वक्ता महिला श्रमिकहरुले मासिक ५ हजार रुपैयाँ तलबमा काम गर्नुपर्ने र आफ्नो इच्छा विपरित हुक्का, रक्सी खान साहुले बाध्य बनाउने गरेको बताएका थिए ।

दोहोरीमा काम गर्छु भन्दा समाजले हेयको दृष्टिले हेर्ने भएकाले लुकेर पेशा गर्नुपर्ने र कोठा भाडामा लिन पनि आफूले ढाँट्नुपर्ने स्थिती रहेको उनीहरुको भनाई थियो ।

‘दोहोरी तथा डान्स रेष्टुरेन्टमा हामीले गीत गाइदिएका कारण ग्राहकहरु आउँछन्, कति कति बेला त नराम्रो नियत राखेर ग्राहकहरु भित्र आउने गरेका छन्’ दोहोरी रेष्टुरेन्टका गायक गायिकाले आफ्ना पीडा सुनाए ।

कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यस्ता समस्या समाधानका लागि महानगरको नेतृत्वमा व्यवसायी र श्रमिक सबै एकसाथ अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो ।

‘निर्णय र कार्यान्वयन दुवै प्रक्रियामा व्यवसायी र श्रमिक दुवै पक्षको सहभागिता भयो भने मात्र नीति बनाउँदा प्रभावकारी हुन्छ, नत्र नीति मात्र बनाएर समस्या समाधान हुँदैन’ उपप्रमुख खड्गी श्रेष्ठको भनाइ थियो ।

सामाजिक विकास महाशाखा प्रमुख पदमकेशर अधिकारी, महिला विकास अधिकृत शान्ता पौडेल, आइएलओ गभर्निङ् बडीका सदस्य आभासिंह राठौर, टे«ड युनियनकर्मी बलदेव तामाङ्लगायतले स्थानीय सरकारले अधिकारकर्मीलाई साथमा लिएर काम अघि बढ्नुपर्नेमा जोड दिए । 

छलफलमा वडाध्यक्ष शुद्धकुमार डंगोल, कार्यपालिका सदस्य हीरादेवी पोखरेल, वडा सदस्य रचना शर्मा,  कृष्णप्रसाद घिमिरेले लगायतले आफ्ना विचार राखेका थिए ।

Categorized in समाज