भक्तपुर चेम्बर अफ कमर्शमा न्हुछेको नेतृत्व
SamacharDesk – समाचार श्रोत : केके मानन्धर | २०७६ बैशाख ३१, मंगलबार

भक्तपुर चेम्बर अफ कमर्शको अध्यक्षमा न्हुछेरत्न मानन्धर चयन भएका छन् । संस्थामा मानन्धरको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो ।
मध्यपुर थिमिमा सम्पन्न पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको हो ।
नयाँ समितिमा कविदास धौबजि श्रेष्ठ उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ सचिव, जगतबहादुर श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी सदस्यमा चन्द्रभक्त श्रेष्ठ, अष्टबज्र बज्राचार्य, लक्ष्मीबहादुर श्रेष्ठ, रामगोपाल सुवाल र राध्ये सैंजु रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका साविक कार्यबाहक अध्यक्ष राजेन्द्र मल्लले ठुला उद्योगदेखि रैथाने परम्परागत पेशा व्यवसाय गर्नेहरुलाई चेम्बरले सघाउने बताए । भक्तपुरको हस्तकला, कृषि, घरेलु उद्योग लगायतबाट उत्पादन हुने उपजलाई राष्टिय तथा तथा अन्तराष्टिय बजारीकरण गर्नुपर्ने बताउँदै नवगठित भक्तपुर चेम्बरलाई यसतर्फ ध्यान केन्द्रित गर्न अनुरोध गरे ।
त्यस्तै, भक्तपुर चेम्बर अफ कमर्शमा नवनिर्वाचित अध्यक्ष न्हुछेरत्न मानन्धरले आफ्नो कार्यकालमा तीन चरणमा भक्तपुरको औद्योगिक विकास, व्यवसाय प्रबद्र्धन तथा व्यवसायीको क्षमता विकास गराउने प्रतिबद्धता जनाए । व्यवसायीले आआफ्नो व्यवसाय मात्र गरेर नपुग्ने बताउँदै कर तथा हिसाबकिताबको ज्ञान अनिवार्य हुनुपर्ने बताए ।
कार्यक्रममा भक्तपुरका चारै वटा नगरपालिकाका प्रतिनिधि, बस्तुगत तथा पेशागत संघसंस्था, सुरक्षा संयन्त्र, पत्रकार तथा उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।
Categorized in बिजनेस