कोथुननि संरक्षणको माग सहित सांसदहरु मन्त्रालय पुगे
SamacharDesk – समाचार श्रोत : अर्विनमान सिं | २०७६ बैशाख ३१, मंगलबार

असनस्थित ५ सय वर्ष पुरानो अशोक वृक्ष विहार (कोथुननि) को संरक्षणको लागि राज्यले आवश्यक कदम चाल्नको लागि अभियन्ताहरुले माग गरेका छन् । कोथुननि संरक्षणको माग लिएर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय पुगेका अभियन्ताहरुले विकासको नाममा ईतिहासलाई मेट्न नपाइने माग गरे ।
कोथुननि संरक्षणको माग लिएर मन्त्रालय पुगेको टोलीले भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई विकासको नाम दिएर सम्पदा मास्न नपाइनेमा जोड दिएका थिए । उनीहरुले ऐतिहासिक कोथुननिलाई भत्काएर व्यापारिक कम्प्लेक्स निर्माण गरिए आफुहरु विरोधमा उत्रिने बताए ।
टोलीको नेतृत्व गर्दै मन्त्रालय पुगेका सांसदद्वय जीवनराम श्रेष्ठ र रामवीर मानन्धरले पुरातात्विक महत्वको सम्पदाको संरक्षण गर्नुपर्ने भन्दै ऐतिहासिक विहारको भवन भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने योजना रोक्नुपर्नेमा जोड दिए ।
सम्पदा अभियन्ता उमेश स्थापित र रविन्द्र श्रेष्ठले मन्त्री अर्याललाई उक्त विहार र त्यहाँस्थित भवनको पुरातात्विक र ऐतिहासिक महत्वको बारेमा जानकारी गराएका थिए ।
मन्त्री अर्यालले गुठी संस्थान र सांसदहरुको समेत उपस्थितीमा यसबारे छलफल गर्ने बताए । राज्य सम्पदा संरक्षणकै पक्षमा रहेको र अध्ययन गरेर आवश्यक कदम चाल्ने मन्त्री अर्यालको भनाई थियो ।
गुठी संस्थानले असनस्थित अशोक वृक्ष विहारलाई भत्काएर विजनेस कम्प्लेक्स बनाउने योजना अघि सारेको छ । अभियन्ता र स्थानीय वासिन्दाले भने कोथुननि भनेर चिनिने १५औं शताब्दीको अशोक वृक्ष विहारलाई ऐतिहासिक स्वरुपमै पुनर्निर्माण गर्नुपर्ने माग गर्दै व्यापारिक कम्प्लेक्स बनाउने निर्णयको विरोध गर्दै आएका छन् ।
Categorized in समाज