रात्रीकालिन व्यवसायीहरुले बुझाए चाबी
SamacharDesk – अनुप प्रधान | २०७८ भाद्र १४, सोमबार

दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले जिल्ला प्रशासन कार्यालय काठमाडाैं समक्ष ज्ञापन पत्र सहित चाबी बुझाएको छ ।
कोभिडका कारण थला परेको रात्रीकालीन व्यवसायको पुनरुत्थानको लागि सरकारले कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलिलाई चाबी हस्तान्तरण गरेको हो ।
लोकदोहोरी, गजल, डान्स्, लाउन्जबार, क्लब डिस्को जस्ता रात्रिकालिन व्यवसायमा आबद्ध कर्मचारी, कलाकार तथा श्रमजीवि मजदुरको दैनिकी जीवन चलाउन कठिन भएको भन्दै उनीहरुले चाबी बुझाएका हुन् ।
आफ्नो रोजगारी सुनिश्चितताको लागि विभिन्न चरणमा गृहमन्त्रालय, पर्यटन बोर्ड, सि.सि.एम.सि लगाएत जिल्ला प्रशासनमा पटक पटक ध्यानाकर्षण गराएता पनि सरकारले आजसम्म कुनै चासो नदिएको व्यवसायीहरुको गुनासो हो ।
कोभिड महामारीका कारण दुई वर्षसम्म पनि रात्रिकालिन व्यवसाय संचालन गर्न नपाउँदा घरभाडा, कर, बैँकको ऋण, तथा व्यवसायिक घाटा व्यहोर्दै आएको व्यवसायीहरुको भनाई छ ।
आगामी दिनहरूमा पनि यहि समस्या भोग्नु परे जुनसुकै कदम चाल्न बाध्य हुन सक्ने बताउँछन् दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन समितिका संयोजक विनोद श्रेष्ठ ।
संयोजक श्रेष्ठले व्यवसायको घरभाडा, ऋण र व्यवसायीक घाटा र कलाकार तथा कर्मचारीहरूको व्यवस्थापनको निम्ति सम्बन्धित निकायले उचित निर्णय लिनेमा विश्वास पनि व्यक्त गरेका छन् ।
Categorized in बिजनेस