संस्कृति अध्येता केदारराज सुवेदी राजोपाध्यायको निधन
SamacharDesk – बिराज | २०७८ भाद्र १८, शुक्रबार

काठमाडौं उपत्यकाको संस्कृति अध्येता अनुसन्धाता केदारराज सुवेदीको निधन भएको छ ।
विगत ६ हप्तादेखि आन्द्रामा रक्तश्राव सम्वन्धि समस्याबाट पिडित रहेका सुवेदीको बिहिबार राति ११ः४० बजे मृत्यु भएको हो । ७८ वर्षीय सुवेदीको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
आन्द्रामा रक्तश्रावको समस्या देखिएपछि शुरुमा उनलाई निदान अस्पतालमा एक हप्ता भर्ना गरी उपचार गरिएको थियो ।
त्यसपछि निरन्तर फलो अपमा रही सोही अस्पतालमा उपचार गराउँदै आएको उनको स्वास्थ्यमा समस्या देखिएपछि दुई हप्ता अगाडी मेडिसिटी भर्ना गरिएको थियो ।
उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय सुवेदीको पार्थिव शरीरमा उनका ज्येष्ठ सुपुत्र कुन्दन राज सुवेदीले दागबत्ती दिएका थिए ।
वि.सं. २००१ पौष कृष्ण एकादशीका दिन जन्मिएका भक्तपुर स्वांमला निवासी सुवेदी काठमाडौं उपत्यकाको संस्कार संस्कृतिको अध्ययन अनुसन्धानमा निकै सक्रिय थिए ।
स्वर्गीय सुवेदी इलिनस विश्वविद्यालयका प्राध्यापक मानवशास्त्री रोबर्ट आइ. लेभिले लेख्नुभएको अनुसन्धानमूलक पुस्तक ‘मेसोकोज्म : हिन्दुइज्म एन्ड दी अर्गनाइजेसन अफ अ ट्रेडिसनल नेवार सिटी इन नेपाल’ का सह लेखक समेत हुन् ।
विभिन्न स्वदेशी तथा विदेशी विद्वानहरुसँग अनुसन्धात्मक कार्यहरुमा संलग्न भइसकेका सुवेदीलाई नेवाः समाजशास्त्री, मानवशास्त्रीको रुपमा पनि चिनिन्छ ।
उनी भक्तपुरको श्री पद्म विद्याश्रमका व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत हुन् भने शान्ति निकेतन मा.वि. को व्यवस्थापन समितिका सदस्यसमेत रहि सक्नुभएको छ ।
Categorized in समाज