गुठी विधेयकको विरोधसँगसँगै माईतीघर सरसफाई पनि
SamacharDesk – सोसियल ब्यूरो | २०७६ आषाढ ५, बिहिबार

गुठी विधेयक खारेजीको माग सहित बुधबार माईतीघर मण्डलामा लाखभन्दा बढिको संख्यामा जन समुदायको उपस्थिती थियो । त्यतै पनि मिनरल वाटर वितरण हुँदै थियो भने चर्को घाममा तिर्खाएकाहरुले पसलतिर पनि पानी किन्न गइरहेका थिए । चिप्स, बिस्कुट, चाउचाउ खाइरहेकाहरु पनि देखिन्थे ।
यसो हेर्दा प्रदर्शन सकिने बेला माईतीघर क्षेत्रमा पानीका बोतल, चिप्स, बिस्कुट, चाउचाउका र्यापरहरु छरपस्ट हुनेछन्, माईतीघर मण्डला क्षेत्र अस्तव्यस्त नै होला भन्ने लाग्थ्यो । तर अचम्मको कुरा, प्रदर्शन सकिँदा माईतीघर क्षेत्र सफा नै थियो ।
नेपाल साइकल सोसाईटीका स्वयम्सेवकहरु विहानैदेखि माईतीघरको सरसफाईमा खटिएका थिए । साथै सेभ नेपाः भ्यालीका स्वयम्सेवकहरु पनि डालो र डोको बोकेर त्यहाँ फालिएका फोहरहरु टिप्दै थिए ।
‘यो हाम्रै ठाउँ हो, हामीले सफा नगरे कसले गर्छ ? हाम्रो फिब्व ख्यः (माईतीघर), पनि हाम्रै सम्पत्ति हो नि ।’ साइकल सोसाईटीका अभियन्ता रत्न श्रेष्ठले भने ।
त्यहाँबाट जम्मा भएका फोहरलाई पुनःप्रयोग गरिने अथवा उचित व्यवस्थापन गरिने अभियन्ता श्रेष्ठले जानकारी दिनुभयो ।
सेभ नेपाः भ्यालीका अभियन्ता राजाराम तण्डुकारले भने, ‘हाम्रो संस्कृति बचाउन आन्दोलन गर्यौं र हाम्रो सभ्यता अनुसार सरसफाइ गर्यौं ।’
