लता मंगेशकरको स्वास्थ्यमा सुधार
SamacharDesk – बिराज | २०७८ माघ ८, शनिबार

भारत रत्न उपाधीबाट सम्मानित भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भएको बताइएको छ ।
भारतीय संगीत क्षेत्रकी स्वर साम्राज्ञीको रुपमा समेत परिचित मंगेशकरको स्वास्थ्यलाई लिएर विभिन्न अफवाह फैलिएको बेलामा भारतीय उनको उपचारमा संलग्न चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले यस्तो बताएको हो ।
कोभिड संक्रमण भइसकेपछि उनलाई मुम्बइस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरी उपचार गरिँदैछ । उनलाई गत ८ जनवरीमा उक्त अस्पतालमा भर्ना गरिएको हो ।
कोभिड संक्रमणसँगै निमोनिया समेत भएका उनलाई सोही दिनदेखि सो अस्पतालको आइसीयू वार्डमा राखेर उपचार गरिँदैछ ।
यसैबीच लताको स्वास्थ्य अवस्थालाई लिएर नकारात्मक हल्ला सामाजिक संजालमा देखिएको थियो । कतिले त उनको निधन भएको भन्दै श्रद्धान्जलीसमेत दिन भ्याएका थिए ।
यस्तो अफवाह फैलिएसँगै गएको दुई हप्तादेखि उक्त अस्पतालमा उपचाररत लताको स्वास्थ्य अवस्थामा केही सुधार नदेखिएकोमा अहिले हल्का सुधार देखिएको चिकित्सकहरुले बताएका छन् ।
उनी अझै आईसीयू वार्डमै उपचाररत रहेको र चिकित्सकहरुको टीम लगातार उनको उपचारमा खटिरहेको बताइएको छ । उनको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चिकित्सकहरुको टिम कडा निगरानीमा बसेको दावी अस्पतालले गरेको छ ।
लताका प्रवक्ताले पनि विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्यलाई लिएर गलत हल्ला नफैलाउन आग्रह गरेका छन् ।
‘लता दीदी आइसीयूमा हुनुहुन्छ, डा. प्रतीत समदानी र उनको टीम उनको उपचार गर्दैछन् । परीवार र चिकित्सकहरुलाई केही स्पेस चाहिएको छ’ लताको प्रवक्ताले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
९२ वर्षीया लताको स्वास्थ्य स्थितीलाई ध्यानमा राख्दै केही दिन अघि मात्रै चिकित्सकहरुले उनलाई अझै १०–१२ दिन अस्पतालमा राख्नुपर्ने बताएका थिए ।
Categorized in पेजथ्री