ज्यापु समाजले तालीम भवन बनाउने
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २४, मंगलबार

ज्यापु समाज ललितपुरले समाजमा सीप विकास र क्षमता अभिवृद्धिको उद्देश्य लिइ निरन्तर तालीमहरुको संचालन गर्न तालीम भवन बनाउने भएको छ ।
ललिपतुरका ज्यापु समुदायको छाता संगठन ज्यापु समाजले सोमवार ज्यापु प्रज्ञा भवन भोलढोकामा पत्रकार सम्मेलनको आयोजना गरी तालीमहरु गर्नको लागि लोक कल्याण भवन बनाउने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले यल गःछेँ टोलकी चिरिमैं महर्जनबाट दानस्वरुप प्राप्त ललितपुर महानगरपालिका ११ वडा सैंथुगणेशस्थित १२ आना जग्गामा उक्त भवन बन्ने बताउनुभयो ।
आउँदो बुधवार विहान विधिवत् रुपमा पूजा सम्पन्न गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनबाट उक्त लोक कल्याण भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
समाजका अध्यक्ष तीर्थलाल महर्जनले सरोकारवाला संघसंस्थासँग समन्वय गर्दै अन्तर्राष्ट्रिय स्तरया नमूना तालीमहरु भवनबाट संचालन हुने बताउनुभयो ।
‘सीप र क्षमताको विकास भएमा कोही बेरोजगार बस्नुपर्ने स्थिती रहन्न, जसले गर्दा समाजको आर्थिक उन्नतीमा पनि टेवा पुग्छ’ अध्यक्ष महर्जनले भन्नुभयो, ‘यहि कुरालाई मध्यनजर गर्दै हामीले निरन्तर सीपमूलक तालीमहरु संचालन गर्दै आएका छौं र अब यस भवनबाट अझ उच्चस्तरीय, गुणस्तरीय तालीमहरुको आयोजना हुनेछ ।’
भवन निर्माण गर्न ललितपुर महानगरपालिकाबाट ६० लाख रुपैयाँ सहयोग हुने भएको छ ।
चार तल्ले भवनमा तालीमको साथमा आर्थिक सबलीकरणको लागि गोष्ठी, सेमिनार आदिको पनि आयोजना गर्ने कार्यक्रम रहेको बताइएको छ ।
समाजले आउँदा दिनमा वृहत रक्तदान कार्यक्रम, चाइनीज भाषा प्रशिक्षण, विदेशी पर्यटकसमेतको सहभागीतामा होली कार्यक्रम, सांस्कृतिक बाजागाजा र नृत्य प्रशिक्षणलगायतको कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
Categorized in समाज