‘मातृभाषा पत्रकारिताको उत्थानमा सहयोग गर्छु’
SamacharDesk – विकाश | २०७६ मङ्सिर ९, सोमबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको जीवनको लुकेको एक पाटोको खुलासा भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा कामपा मेयर शाक्यले विगतमा आफु पनि पत्रकार नै रहेको बताए ।
नेवाः पत्रकार राष्ट्रिय दबूसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै शाक्यले विगतमा आफुले बुधबार साप्ताहिक र नेपालभाषाको दैनिक पत्रिका विश्वभूमिको लागि पत्रकारिता गरेको जानकारी दिए ।
आफुले पनि विगतमा नेपालभाषामा पत्रकारिता गरेको हुनाले मातृभाषा पत्रकारिताको अवस्था र समस्या आफुले राम्ररी नै बुझेको शाक्यको भनाई थियो ।
स्थानीय मातृभाषा पनि सँस्कृतिकै एक अङ्ग रहेको बताउँदै स्थानीय भाषा, कला, साहित्यको संरक्षण पनि स्थानीय सरकारकै दायित्व भएको शाक्यले बताउनुभयो ।
स्थानीय भाषाको संरक्षणको लागि स्थानीय मातृभाषी पत्रकार र संचार क्षेत्रले पनि काम गर्नुपर्नेमा शाक्यले जोड दिनुभयो ।
कार्यक्रममा कामपा मेयर शाक्यले नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्य समितिलाई शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा दबूका वरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले दबूको संगठनको स्वरुप, उद्देश्यको साथमा संगठन विस्तार र दबूबाट हुँदै आएका गतिविधिहरुको बारे जानकारी गराउनुभयो ।
विगतमा आदिवासी जनजाति पत्रकार महासंघसँगको सहकार्यमा दबूबाट पहिलो मातृभाषा पत्रकारिता दिवसको आयोजना गरेको सम्झँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उक्त दिवसबाट नेपालभाषाको पहिलो पत्रिका प्रकाशन गर्ने धर्मादित्य धर्माचार्य नेपालकै पहिलो मातृभाषी पत्रकार प्रमाणित भएको जानकारी पनि गराउनुभयो ।
विद्यालय पनि स्थानीय सरकारको अधिकार क्षेत्रमा आइसकेको अवस्थामा धर्मादित्यको जीवनि पाठ्यक्रममा पनि समावेश गर्न श्रेष्ठले मेयर शाक्यसँग अनुरोध गर्नुभयो । साथमा, धर्मादित्यको सालिक स्थापना गर्नको लागि पहल गर्न पनि श्रेष्ठले अनुरोध गर्नुभयो ।
दबूका नवनिर्वाचित अध्यक्ष सुरजबीर बज्राचार्यले विभिन्न संचारगृहमा आवद्ध भई नेपालभाषा साथै गैर नेपालभाषाबाट पनि पत्रकारिता गर्दै आएका नेवाः पत्रकारको दक्षता अभिवृद्धिको लागि दबू अग्रसर रहने बताउनुभयो ।
स्थानीय मातृभाषामा संचालन प्रकाशन भइरहेका संचारमाध्यम र मूलधारका संचारमाध्यमलाई एकै दृष्टिले हेर्न नमिल्ने बताउँदै स्थानीय सरकार साथै संघीय सरकारले समेत यसको लागि विशेष सुविधाको व्यवस्था गर्नको लागि अध्यक्ष बज्राचार्यले माग गर्नुभयो ।
Categorized in समाज