नाइस टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम
SamacharDesk – विकाश | २०७६ मङ्सिर १३, शुक्रबार

नाइस टेलिभिजनमा पनि नेपालभाषाको कार्यक्रम संचालन हुने भएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा नाइस टेलिभिजनको नेपालभाषाको कार्यक्रम ‘झीगु सः’ को घोषणा गरियो ।
कार्यक्रममा बोल्दै झीगु सः कार्यक्रमका निर्देशक विजयरत्न असंबरेले कार्यक्रमको घोषणा गर्नुभयो । कार्यक्रमको घोषणाको साथै कार्यक्रम टिमको जानकारी पनि निर्देशक असंबरेले दिनुभयो ।
टेलिभिजनमा पहिलो नेपालभाषाको कार्यक्रमको समेत आफुले निर्देशन गरेको स्मरण गर्दै असंबरेले आफ्नो मातृभाषाको उत्थानमा सक्दो योगदान दिने उद्देश्यले आफु अघि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा नाइस टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक आशिर्वाद पुन मगरले झीगु सः को साथमा नेपालभाषाका कार्यक्रम बौद्धावदान र वहस कार्यक्रम पनि संचालन हुन लागेको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा आयोजक संस्थाहरु वौद्ध विहार संघ र क्यापिटल एफ एममा संचालन भइरहेको नेपालभाषाको कार्यक्रम लायकूले नेवाः पत्रकार राष्ट्रिय दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई शुभकामना दिएको थियो ।
दबूको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई नेवाः सँस्कृति अनुसार सगुन दिनुका साथै खादा ओढाएर शुभकामना दिइएको थियो ।
वौद्ध विहार संघका अध्यक्ष नानीकाजी शाक्य, महासचिव सुरेन्द्र बज्राचार्य, निवर्तमान अध्यक्ष पुष्परत्न शाक्य लगायतले दबूको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिनुका साथै जातीय समानता र आफ्नो हक अधिकार प्राप्त गर्नलाई एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रमका वक्ताहरुले समाचार सम्प्रेषणमा समेत जातीय दृष्टिकोणले भेदभाव हुने गरेको औंल्याउँदै पत्रकार दबूले यस सम्वन्धमा पनि ध्यान पुर्याउनुपर्ने बताएका थिए ।
दबूका महासचिव सुनिल महर्जनले राष्ट्रलाई समृद्ध र बलियो बनाउन यहाँका विभिन्न जातीय समुदाय पनि एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार दबूका नवनिर्वाचित अध्यक्ष सुरजबीर बज्राचार्यले देशमा जातीय भेदभाव कायम रहेको कारणले नै जातीय संगठनहरुको आवश्यकता बनेको बताउनुभयो । राज्यले हरेक जातीय समुदायलाई समान अवसर प्रदान गर्ने अवस्थामा राष्ट्रिय एकता नै बलियो हुने अध्यक्ष बज्राचार्यको भनाई थियो ।
Categorized in समाज