लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरद्वारा तीन मूर्धन्य स्रष्टा सम्मानित
SamacharDesk | २०७९ बैशाख २७, मंगलबार

लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन मूर्धन्य स्रष्टालाई एक भव्य समारोहका बीच सम्मान गरेको छ ।
साहित्यकला मन्दिर स्थापनाको २८ औं वर्ष प्रवेशको अवसरमा मंगलबार काठमाण्डौको अग्रवाल सेवा केन्द्र भवनमा आयोजित भव्य समारोहकाबीच तीन मूर्धन्य स्रष्टालाई सम्मान गरिएको हो ।
साहित्यकला मन्दिरले स्थापना गरेको ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान’ स्रष्टा प्रा.डा. त्रिरत्न मानन्धर, ‘सरस्वती सम्मान’ तेजेश्वर बाबु ग्वंगः र ‘नारायणगोपाल संगीत सम्मान’ न्हूछेबहादुर डंगोललाई प्रदान गरेको हो । सम्मानित तीनै स्रष्टा जेष्ठ नागरिक हुन् ।
समारोहमा प्रा.डा. उषा ठाकूर र साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीले संयुक्त रुपमा तीन स्रष्टाहरुलाई नगद जनही १ लाख ५१ हजार, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
साहित्यकला मन्दिरले स्थापनाको वर्षदेखि नै विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्दै आएको छ । हालसम्म साहित्यकला मन्दिरबाट करिब १० दर्जन स्रष्टाहरुले सम्मान पाइसकेका छन् ।
सो अवसरमा साहित्यकला मन्दिरका अध्यक्ष तथा चर्चित कवि तथा गीतकार बसन्त चौधरीले ‘स्रष्टा सम्मान’को २८ औं वर्षको उत्सव मनाउन पाउँदा आफूलाई खुशी लागेको बताए ।
उनले सिर्जनामार्फत समाजका हरेक क्षेत्र प्रतिबिम्बित हुने उल्लेख गर्दै सिर्जना समाजलाई नजिकबाट नियाल्ने ऐना रहेको बताए । ‘साहित्य होस् या संगीत, कला होस् या रंगमञ्च, यी सिर्जनशील विधाले सदैव हामीलाई अँध्यारोबाट उज्यालोतर्फको यात्रामा डोहोर्याउँछन् ।’ उनले भने–‘भनिन्छ नि तमसोमा जोतिर्गमय । साहित्यकलाले हामीलाई मनको अन्धकारबाट निकालेर सिर्जनाको चहकिलो उज्यालोतर्फ डोहो¥याउँछ ।’
कार्यक्रमलाई सम्बोधन गर्दै बसन्त चौधरी फाउण्डेसनका उपाध्यक्ष मेघा चौधरीले अग्रजलाई आदर र नयाँलाई प्रोत्साहन गर्ने आफूहरुको परिवारको परम्परा नै रहेको उल्लेख गर्दै आगामी दिनमा साहित्य कला क्षेत्रको उन्नयनमा अनवरत लागिरहने प्रतिबद्धता जनाइन् ।
साहित्यकला मन्दिरका उपाध्यक्ष वरिष्ठ कलाकार हरिहर शर्माले आफूहरुले सम्मानका लागि मूर्धन्य व्यक्तिको छनौट गर्ने गरेको र यसले सम्मानकै गरिमा समेत बढिरहेको उल्लेख गरे ।
समारोहमा डा. अस्मिता अर्यालद्वारा रचित पुस्तक ‘मैले बुझेको दुनियाँ’को लोकार्पण समेत गरिएको थियो ।
Categorized in पेजथ्री