arin enterprises

भोटका लागि पैसा बाँडेको भन्दै कार्यकर्ताबीच कुटाकुट

SamacharDesk – बिराज | २०७९ बैशाख २९, बिहिबार

मौन अवधिमा आफ्नो पक्षमा पार्न मतदातालाई पैसा बाँडेको भन्दै माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

रूकुम पश्चिममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच जिल्लाको चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको हो ।

झडपमा परि पाँच जना घाइते भएका छन् । घाइते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन् ।

डिल्लीको टाउको र बाँया हातमा चोट लागेको छ भने डायमनको खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

बुढा र घर्तीको टाउकोमा चोट छ । घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले बताउनुभयो ।

यसैबीच पैसा बाँडेको आरोपमा प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका एक उम्मेदवारसहित दुई जनालाई पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राति प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगातलाई पक्राउ गरेको डिएसपी सोतीले बताउनुभयो ।

उनीहरुको साथबाट तीन थान खुकुरीसमेत बरामद भएको छ । प्रहरीले नियन्त्रणमा लिनुअघि माओवादी र कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको थियो ।

Categorized in समाज