भारत सरकार कूटनीतिक समस्यामा
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ जेठ २५, बुधबार

भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ता नुपुर शर्माको अभिव्यक्तिका कारण भारत सरकार कूटनीतिक समस्यामा परेको छ ।
उनले पैगम्बर मोहम्मदप्रति अनादर भाव जनाउने विवादित अभिव्यक्ति दिएपछि भारत मुस्लिम देशको निशानामा परेको हो । शर्माको अभिव्यक्तिप्रति आधा दर्जनभन्दा बढी देशहरूले कडा शब्दमा आपत्ति जनाएका छन् ।
मंगलबार साँझसम्म शर्माको अभिव्यक्तिप्रति विरोध जनाउने देशहरूको संख्या २० पुगेको छ ।
कतार, कुवेत र इरानले यस विषयमा भारत सरकारले माफी नै माग्नुपर्ने भन्दै त्यहाँ रहेका भारतीय राजदूतलाई बोलाएर गम्भीर आपत्ति जनाएका छन् ।
भारतमा मुस्लिम अल्पसंख्यकमाथि ज्यादती बढेको र धार्मिक आस्थामाथि आक्रमण हुन थालेको भन्दै ती देशहरूले आपत्ति जनाएका हुन् ।
५७ मुस्लिम देशको इस्लामिक संगठन (ओआईसी) ले शर्माको अभिव्यक्तिको निन्दा गर्दै भारतमा पछिल्लो दिनमा मुसलिमविरुद्ध हिंसाका घटना बढेको जनाएको छ ।
तर ओआईसीको वक्तव्यप्रति आपत्ति जनाउँदै भारतीय विदेश मन्त्रालयले भारत सरकारले सबै धर्मको सम्मान गर्ने गरेको दाबी गरेको छ ।
पार्टीका महासचिव अरुण सिंहले एक विज्ञप्ति जारी गर्दै भाजपा सबै धर्मलाई सम्मान गर्ने पार्टीको रूपमा रहेको जनाएका छन् । पार्टीका राष्ट्रिय महासचिव सिंहद्वारा जारी विज्ञप्तिमा कुनै पनि सम्प्रदाय वा धर्मको अपमान गर्ने विचारधारालाई भाजपाले स्वीकार्न नसक्ने उल्लेख छ ।
यस्तै भारतको हजारौं वर्षको इतिहासमा प्रत्येक धर्मले उत्तिकै सम्मान पाइरहेको र हरेक धर्मसँग सम्बन्धित धार्मिक व्यक्तिहरूप्रतिको अपमानको भाजपाले निन्दा गर्ने जनाइएको छ ।
भाजपाले आफ्नो राष्ट्रिय प्रवक्ता शर्मा र त्यस्तैखाले अभिव्यक्ति दिने दिल्ली प्रदेशका नेता नवीन जिंदललाई निलम्बन गरेको छ ।
खाडी देशसँग भारतको राम्रो व्यापारिक सम्बन्ध भने साउदी अरब, कुवेत बहराइनलगायत अन्य कतिपय अरब देशका सुपर मार्केटमा भारतीय उत्पादनका सामानमाथि प्रतिबन्ध लगाइएको समाचार आउन थालेका छन् ।
यूएई, जोर्डन, बहराइन, इन्डोनेसिया, अफगानिस्तान, पाकिस्तान, मलेसिया, माल्दिभ्स, लिबिया, इराक, इजिप्ट र टर्कीएलगायत मुस्लिम देशहरूले शर्माको अभिव्यक्तिप्रति भारतसमक्ष आपत्ति जनाइसकेका छन् ।
मे २६ मा भाजपा नेत्री शर्माले एक टेलिभिजन कार्यक्रममा पैगम्बर मोहम्मदलाई लक्षित गर्दै बोलेकी थिइन् । उनको यहि अभिव्यक्ति विवादमा तानिनुका साथै उनीविरुद्ध मुम्बई प्रहरीमा मुद्दासमेत परेको छ । सत्तारुढ दल भाजपालाई कट्टर हिन्दुवादी पार्टीको रुपमा लिने गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय