arin enterprises

आशामा बालकृष्णको नेतृत्व

SamacharDesk – विजनेस ब्यूरो | २०७६ पौष २६, शनिबार

काठमाडौंको मखनस्थित आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमुख बिद्या सुन्दर शाक्यले गरे ।

कामपा प्रमुख शाक्यले सहकारीले समाजमा उल्लेख्य योगदान दिने गरेको बताए । यद्यपि विश्वासिला संस्थामा मात्र कारोवार गर्न शाक्यले जन समुदायलाई अनुरोध गर्नुभयो । 

अब सहकारीको अधिकार क्षेत्र पनि कामपामै आइसकेको अवस्थामा यस क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन लागिपरेको शाक्यको भनाई थियो ।

‘ऋण उठाउन सकिएन भन्ने सहकारीको गुनासो रहन्छ, आफुले जम्मा गरेको पैसा पनि सहकारीले दिएन भन्ने वचतकर्ताको गुनासो हुन्छ । दुवैतर्फको समस्याको समाधान खोजिनुपर्छ’ शाक्यको भनाई थियो ।

सभामा संस्थाका कार्यवाहक अध्यक्ष बालकृष्ण महर्जनले संस्थाको वार्षिक कार्यप्रगती विवरण प्रस्तुत गर्नुभयो । त्यसैगरी लेखा समितिका सदस्य प्रकाशदास प्रधानले आर्थिक विवरण प्रस्तुत गर्नुभयो । 

प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७५/०७६ मा १ करोड २५ लाख १६ हजार ६ सय रुपैंया शेयर पूँजी तथा १९ करोड १ लाख २० हजार ७ सय ५२ रुपैंया बचत संकलन गरेको छ । त्यसैगरी १८ करोड ८० लाख ९६ हजार ८ सय ७ रुपैंया कर्जा लगानी गरी ३१ लाख ४९ हजार ८ सय ४९  रुपैंया ५४ पैसा खुद आम्दानी गरेको छ ।

कार्यक्रममा संस्थाका ७५ वर्ष नाघेका ज्येष्ठ सदस्यहरुको साथै विभिन्न शैक्षिक तहमा उत्तीर्ण विद्यार्थी सदस्यहरुहलाई पनि सम्मान गरिएको थियो ।

सोही साधारण सभाबाट साविक कावा अध्यक्ष बालकृष्ण महर्जनको नेतृत्वमा नयाँ कार्य समितिको पनि चयन गरिएको छ ।

Categorized in बिजनेस