ललितपुर सुनचाँदि व्यवसायी संघमा रमेशबहादुर
SamacharDesk – विजनेस ब्यूरो | २०७६ पौष २६, शनिबार

ललितपुर सुनचाँदि व्यवसायी संघले रमेशबहादुर शाक्यको नेतृत्व पाएको छ । ललितपुरमा सम्पन्न संघको सातौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशनले शाक्यलाई नयाँ अध्यक्ष चयन गरेको हो ।
सर्वसम्मत चयन भएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा मोतिमान (हेम) शाक्य र द्वितीय उपाध्यक्षमा विजेन्द्र बज्राचार्य चयन भएका छन् ।
महासचिवमा विपिन शाक्य रहनुभएको छ भने हेराकाजी शाक्य कोषाध्यक्षमा निर्वाचित भए । सचिव संजय शाक्य र सह कोषाध्यक्ष राजेन्द्र शाक्य बनेका छन् ।
सदस्यहरुमा राकेश बज्राचार्य, सिद्धिरत्न बज्राचार्य, सुदन शाक्य र निरञ्जन बज्राचार्य छन् ।
कार्यक्रममा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शताब्दी पुरुष जोशीले विभिन्न परम्परागत गरगहनाले पनि नेवार समुदायको साथमा नेपालकै साँस्कृतिक पहिचान बोकेको बताउनुभयो । परम्परागत गरगहना बनाउने व्यवसायी साथै कालिगढले पनि परम्परा र पहिचानको संरक्षणमा योगदान दिँदै आएको जोशीको भनाई थियो ।
सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्य, नेपाल बार एशोसिएसनका नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठको साथमा कलाकार शरद शाक्यलाई पनि सम्मान गरिएको थियो । साथमा रजत जयन्ती मूल समारोह समितिका ३२ सदस्यहरुलाई पनि कदरपत्र सहित सम्मान गरिएको थियो ।
संघका साविक अध्यक्ष किरणभाई बज्राचार्यले विभिन्न प्रकारका आपराधिक गतिविधिका कारण व्यवसायीहरुले असुरक्षित महसूस गर्नुपरेको परिस्थितीमा संघ स्थापना भएको स्मरण गर्नुभयो । अहिले व्यवसायीहरुको एकताका कारणले संघले यहाँसम्मको यात्रा तय गर्न सकेको बज्राचार्यको भनाई थियोे ।
संघको रजत वर्षका् समापनको रुपमा पनि संचालन भएको कार्यक्रममा शताब्दी पुरुष जोशीले संघको २५ वर्षको ईतिहास समेटी प्रकाशित गरिएको ‘हेमालंकार’ पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख भगिरथ पाण्डे, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, सांसद नवराज सिलवाल, पूर्वमन्त्री बुद्धिराज बज्राचार्य, रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जन, संघका सल्लाहकार तीर्थमान शाक्य, तेजरत्न शाक्य, सुनचाँदि व्यवसायी संघ प्रदेश ३ का संयोजक दियसरत्न शाक्य, सुनचाँदि व्यवसायी महासंघका कोषाध्यक्ष महेन्द्ररत्न शाक्य लगायतको उपस्थिती थियो ।
Categorized in बिजनेस