arin enterprises

नागपञ्चमीमा नागको सम्मान गर्ने कि अपमान ?

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ श्रावण १७, मंगलबार

आज श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । आजको दिन परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बीर टाँसेर नागको पूजा अर्चना गरी मनाइँदैछ । आजको दिनमा नागको साथै नाग धारण गर्ने भगवान शिवको पूजा आराधना गर्ने गरिन्छ ।

साथै आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

नेपालका अन्य स्थानको साथै भारतमा समेत घरघरमा नागको छापा तस्वीर टाँसेर पूजा गर्ने गरिएको पाइन्छ भने काठमाडौ उपत्यकामा चित्रकारहरुले कोरेको अष्टनाग वा नाग मात्र भएको चित्रहरु टाँस्ने गरिन्छ ।

तर हाल आएर नागको आधुनिक छापा तस्बीर बजारमा सजिलै पाइने भएकोले उपत्यकामा पनि यस्तै तस्वीर टाँस्न थालिएको छ ।

यहि क्रममा नाग पूजा भनी कृष्ण कालिया नागको टाउकोमा चढेर नृत्य गरिरहेको तस्वीरलाई पनि घरको ढोकामा टाँसेर पूजा गरेको पाइन्छ । तर नागको पूजा गर्ने दिन नागपञ्चमीका नागको दमन गरेको यो तस्वीर पूजा गर्न नहुने बिज्ञहरु बताउँछन् ।

कालिया नाग र कृष्णसँग जोडिएको किम्बदन्ती

द्वापर यूगमा गरुडको डरले कालिया नाग यमुना नदिमा लुक्न आउँछ । नागको राजा पनि भनिने कालियानाग नदिमा बस्न थालेपछि नदिको पानी बिषालु बन्न पुग्छ ।

त्यहि यमुना नदिको विषालु पानी पिउँदा गोकुलवासीसाथै अन्य मानिसहरुको मृत्यु हुन थाल्छ । एकपटक श्रीकृष्ण आफ्ना साथीहरूसँग त्यहि यमुना नदिको किनारमा खेल्न पुग्छन् ।

खेल्दै गर्दा अचानक उनीहरुको खेल्दै गरेको बल नदीमा खस्छ । यमुना नदीमा कालिया नाग छ र त्यसैको कारणले त्यहाँको पानी विषालु छ भन्ने सबैलाई थाहा थियो ।

त्यसैले बल लिनको लागि मृत्युको डरले कोही पनि नदीमा जान तयार भएनन् । त्यसपछि श्रीकृष्णले ‘बल म ल्याउँछु’ भन्दै नदिमा हाम फाले ।

नदिमा हामफाल्ने वित्तिकै कालियाले अन्य नागहरूसँग कृष्णलाई घेरे र त्यहाँ कृष्ण र कालियाको युद्ध भयो ।अन्तमा, कृष्णले कालिया नागको टाउकोमा टेकेर उफ्रिन्दै नृत्य गरे ।

 

अन्ततः कालिया नागले कृष्णसँग हार मान्दै आफ्नो ज्यान बचाउन प्रार्थना गर्न थाले । त्यसपछि कृष्णले उनलाई आफ्नो ठाउँमा फर्केर जान भने ।

आफु फर्केर गएपछि गरुडले आफुलाई मार्ने कुरा कालिया नागले भनेपछि कृष्णले भने, ‘तिम्रो शिरमा मैले टेकिसकेको छु, तिम्रो टाउकोमा मेरो खुट्टाको दाम देखेपछि गरुडले तिमीलाई केही गर्दैन '।

यसपछि कालिया नाग यमुना नदीबाट श्रीकृष्णलाई आफ्नो टाउकोमा बोकेर बाहिर निस्किए र त्यसपछि आफ्नी पत्नीहरूसँग आफ्नो ठाउँमा गए ।

नागपञ्चमीमा किन कालिया नागको यो तस्वीर पूजा गर्नुहुन्न ?

कृष्णले कालिया नागको टाउकोमा टेकेर दमन गरिरहेको चित्र देखेर देवता पक्कै पनि खुशी हुँदैनन् । नागलाई सम्मान स्वरुप पूजा गर्ने दिनमा यसरी नागलाई नै दमन गरेको चित्र पुजा गर्नुको अर्थ नागलाई अपमान नै गर्नु हो ।

विगतका दिनमा नागको चित्रमा नागमात्र हुने र हाल केहि बर्ष अघिदेखि मात्र कृष्ण पनि राख्ने गरेको बुढापाकाहरु बताउँछन् ।

यदि कसैको तस्वीर राखेर सम्मान गर्नुपरेमा निजको राम्रो तस्वीर राख्ने गरिन्छ । कसैले पनि निजलाई कुटेको वा पिटेको तस्वीर भने राखिन्न ।

नागको तस्वीर टाँस्दा वर्षभरी घरमा नाग, सर्प वा बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।

तर कसैले यसरी नागलाई दमन गरेको चित्र राखेर पूजा गर्दा नागको सार्वजनिक रुपमा अपमान भयो भनेर रिसाई अनिष्ट नै हुने मान्यता पनि छ ।

विज्ञान र प्रविधिको यूग भनिएको आजको दिनमा पनि घरमा केहि नराम्रो हुँदा नागको दोष र शान्ती गर्नपर्ने विश्वास गरिन्छ ।

त्यसैले नाग पूजा गर्ने नागपञ्चमीको दिन नाग मात्र भएको चित्र पूजा गर्नु उचित हुने छ ।

नागको सम्मानको दिनमा कालिया नागकै दमन गरेको चित्र राखी किन अपमान गर्नु ?

Categorized in विचार