arin enterprises

स्याङ्जा २ मा गुरुङ तथा बाजुराबाट पाण्डे विजयी

SamacharDesk | २०७९ मङ्सिर १८, आइतबार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम कूल १६५ निर्वाचन क्षेत्रमध्ये अब दोलखाको १ को मात्र नतिजा आउन बाँकी रहेको छ ।

आज विहान सार्वजनिक भएको नतिजा अनुसार स्याङ्जामा नेपाली कांग्रेसका धनराज गुरुङले बाजी मारेको छ भने बाजुरामा पनि कांग्रेसका बद्रि पाण्डे निर्वाचित हुनुभएको छ । आयोगले गरेको नतिजा अनुसार स्याङ्जा २ मा निर्वाचित धनराज गुरुङ ३१ हजार ४६६ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्दी एमाले उम्मेदवार पद्मा अर्यालले २५ हजार ८९३ मत पाउनुभयो । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार ११३ मत प्राप्त गर्नुभयो । बाजुराबाट निर्वाचित बद्री पाण्डेले ३१ हजार ७८६ मतसहित निर्वाचित हुनु भएको हो ।

उहाँका निकटतम् प्रतिद्वन्दी एमाले उम्मेदवार कर्ण थापाले २६ हजार ३४९ मत प्राप्त गर्नुभयो । बाजुरा र स्याङ्जा २ जितेसंगै कांग्रेसले प्रतिनिधिसभामा ५७ सिट जितेको छ भने एमालेको ४४ सिट र माओवादीले १७ सिट जितेका छन् ।

अब नतिजा आउन बाँकी दोलखामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ । शिवाकोटीले १७ हजार ५२८ मत प्राप्त गर्दा माओवादी उम्मेदवार गंगा कार्कीले १५ हजार ७ सय मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले २ हजार ४६० मत प्राप्त गर्नुभएको छ । उता समानुपातिकतर्फको मतगणनामा भने एमालेको अग्रता कायमै रहेको छ ।

समानुपातिकतर्फ अब दोलखा र बाजुराको मात्रै मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म १ करोड ४ लाख २० हजार मत सदर भएको छ भने अब दोलखामा करीब ८० हजार र बाजुरामा ६० हजार बढी मत थपिने संभावना रहेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार एमालेले समानुपातिकमा २७ लाख ८८ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २६ लाख ६० हजार मत पाएको छ ।

यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार, जनता समाजवादी पार्टी जसपाले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

यस्तै, एकीकृत समाजवादीले २ लाख ९४ हजार मत कटाएको छ । निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताइएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।

Categorized in राष्ट्रिय