रास्वपाले देशैभर संगठन विस्तार गर्ने
SamacharDesk | २०७९ माघ ९, सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो बसेको केन्द्रीय समितिको बैठकले देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
पार्टी गठन भएको १ वर्षभित्र अर्थात आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने भएको छ ।
हिजो बसेको बैठकले विराजभक्त श्रेष्ठलाई संसदीय दलको उपनेता र सन्तोष परियारलाई प्रमुख सचेतक पनि तोकेको छ ।
राजस्वपाका प्रवक्रा मुलुक ढकालले जारी गरेको विज्ञप्ति अनुसार सात वटै प्रदेश भेला गर्ने र चैतसम्म जिल्ला निर्वाचन समितिहरु गठन गर्ने उल्लेख छ ।
जेठ मसान्तसम्म पालिका र वडास्तरीय समिति गठन गर्ने भनिएको छ । माघ मसान्तभित्र प्रदेश समितिका बिस्तारित भेलाहरू गर्ने र भेलाबाट प्रदेश समिति पुनर्गठन गर्ने निर्णय गरेको सो पार्टीले प्रदेशका भेलाहरुको मिति पनि तय गरेको छ ।
जस अनुसार माग १४ गते प्रदेश नम्बर १ को विराटनगरमा भेला गरिने छ भने माघ १६ गते मधेशको जनकपुरमा भेला आयोजना गर्ने निर्णय भएको छ ।
यस्तै माघ १८ गते बागमतीको हेटौंडा, माघ २१ गते गण्डकीको पोखरा, माघ २४ गते लुम्बिनीको दाङ, माघ २८ गते कर्णालीको सुर्खेत र माघ २६ गते सुदूरपश्चिमको धनगढीमा प्रदेश भेला हुने जनाइएको छ ।
Categorized in राजनीति