काठमाडौँ महानगरको बजार बिहान १० बजेसम्म खुल्ने
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख १४, आइतबार

काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधीमा बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ । सरकारले पाँचौं चरणमा लकडाउन अवधि थप गर्दै वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेकै दिन बसेको ४५औं कामपाको कार्यपालिका बैठकमा यस विषयमा छलफल भएको हो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामाजिक दूरी कायम गर्दै बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय किनमेलको व्यवस्था मिलाउन वडाध्यक्षहरुलाई आग्रह गर्नुभयो ।
लकडाउनको अवधिमा आपूर्ति व्यवस्थालाई एकरुपता कायम गर्दै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउनु पर्ने सुझाव वडाध्यक्षहरुले दिएका थिए ।
बैठकले कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, ¥यापिड डाइग्नोष्टिक परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायतका बिषयमा केन्द्रीत भएर छलफल भएको थियो ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरबाट सम्पन्न कामको समीक्षा गर्दै प्रमुख शाक्यले अहिलेसम महानगरका ६८ हजार ६ सय १७ जनालाई राहत वितरण गरेको जानकारी दिनुभयो । खान पाइएन भन्ने १९ हजार ७ सय २३ जनालाई वडाबाट निःशुल्क भोजनको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी प्रमुख शाक्यले राहत वितरणमा एकद्वार नीतिअनुरुप वडाबाट काम भएकोले बिकृतिमा न्युनीकरण भएको दावी पनि गर्नुभयो ।
बैठकले महानगरको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला वडा, मझौला र साना वडालाई थप निकासा पठाउने समेत निर्णय गरेको छ । ठूलालाई १५ लाख, मझौलालाई १० लाख र सानालाई ५ लाख रुपैयाँलाई थप निकासा गर्ने गरी बैठकले अनुमोदन गरेको छ ।
त्यसैगरी फोहोर व्यवस्थापनका लागि प्रयोग हुँदै आएको ककनी गाउँपालिकाकाका प्रभावित वडाका राहतका लागि प्रदान गरिएको १५ लाख रुपैयाँ र धुनिवेँसी नगरपालिकाकाको वडा १ का लागि पठाइएको ३ लाख रुपैयाँ बैठकले अनुमोदन गरेको छ ।
बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले आन्तरिक समन्वय मजवुत भएकोले राहत वितरण सहज भएको बताउँदै यसलाई थप सुदृढ बनाउँदै लानुपर्नेमा जोड दिनुभयो ।
बैठकमा वडाध्यक्षहरुले वडामा समन्वय नगरी राहत लिएर आउनेहरुलाई निरुत्साहित गर्नुपर्ने, सामाजिक दुरी र स्वास्थ्य सुरक्षा अपनाएर पूर्वाधारका कामलाई नियमित गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।
Categorized in बिजनेस