सत्तारुढ दलहरुबाट सुझाव संकलन
SamacharDesk | २०८० जेठ २, मंगलबार

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिनु भएको हो । सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।
त्यसैका लागि सुझाव लिन मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री दाहालले सो सम्बन्धमा सत्तारुढ दलका नेताहरुको पनि सुझाव दिनु भएको सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनु भयो ।
उहाँले बैठकमा नेताहरुले कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सृजना गर्ने, प्रतिभा पलायन र युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएको पनि बताउनु भयो ।
समयअभावका कारण केही दलका नेताहरुले सुझाव दिन नभ्याएसम्म भोलीसम्ममा लिखित रुपमा सुझाव पठाउन पनि प्रधानमन्त्री दाहालले आग्रह गर्नु भएको थियो ।
सो अवसरमा कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिइएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनु भयो ।
उहाँले आफूहरुले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सत्तारुढ दलमा आवद्ध नेताहरु सहभागी हुनु भएको थियो ।
Categorized in राजनीति