उत्तरी ध्रुवको ओजोन सतहमा ठुलो प्वाल बन्द भयो
SamacharDesk – विकाश | २०७७ बैशाख १९, शुक्रबार

उत्तरी गोलार्धमा ओजोन सतहमा देखिएको प्वाल बन्द भएको छ ।
कपर्निकस एट्मसफेयर मोनिटरिङ सर्भिस (सीएएमएस) ले ट्वीट गर्दै यसै वर्षको मार्चमा उत्तरी गोलार्ध्दको ओजोन सतहमा देखिएको सबैभन्दा ठुलो प्वाल बन्द भएको जनाएको हो ।
मार्चको अन्तिमतिर सीएएमएसका वैज्ञानिकहरुले आर्कटिक क्षेत्रमा एउटा ठुलो खाली ठाउँ देखेका थिए । अहिलेसम्म वायुमन्डलमा यत्रो ठुलो भ्वाङ नदेखेको ती वैज्ञानिकहरुले बताएका थिए ।
आर्कटिक क्षेत्रमा वायुमन्डलको माथि ओजोन सतहमा साना प्वाल देखिसकेको सीएएमसले जनाएको छ ।
तर यति ठुलो प्वाल देखिएको पहिलो पटक भएको भन्दै सिएएमएसले यो चिन्ताको विषय भएको बताएको थियो ।
सीएएमएसले त्यो ठुलो प्वाल ओजोनमा आउँदै गरेको ठुलो समस्याको एउटा लक्षण भएको बताएको छ ।
वार्षिक चक्रका कारण मात्र अहिले यो बन्द भएको तर दीगो समाधान भने नभएको सीएएमएसले ट्वीटमा जनाएको छ ।
ओजोन सतहमा सुस्त गतीमा सुधार आइरहेकोले आशा गर्न सकिने पनि सीएएमएसले जनाएको छ ।
सन् १९९६ मा क्लोरोफ्लोरोकार्बनको प्रयोग बन्द गरिएपछि यसमा विस्तारै सुधार देखिन थालेको हो ।
ओजोन सतहले पृथ्वीलाई सूर्यको हानिकारक किरणबाट आवश्यक सुरक्षा दिने गर्दछ ।
जमीनबाट १०–४० किलोमीटरको उचाईमा रहेको ओजोन सतहले पृथ्वीलाई अल्ट्राभ्वाइलेट विकिरणबात बचाउन मद्दत गर्ने गर्दछ ।
यस रक्षा कवचमा कुनै पनि प्वालले यहाँ हिउँ पगलिने गतिलाई बढाउँदछ । साथमा मानिसहरुमा छालाको क्यान्सर र रतन्धो जस्ता स्वास्थ्य समस्या पनि ल्याउन सक्छ ।
Categorized in विज्ञान-प्रविधी