भारतमा तीनवटा नयाँ स्टोर खोल्दै एप्पल
SamacharDesk | २०८० जेठ २२, सोमबार

एप्पलले भारतमा तीनवटा नयाँ स्टोर खोल्ने भएको छ ।
गत अप्रिल महिनामा मुम्बईको बीकेसी र दिल्लीको साकेतमा खोलेको स्टोरले राम्रो बजार बनाउन सफल भएपछि कम्पनीले अन्य तीन स्टोर पनि खोल्ने योजना सार्वजनिक गरेको हो ।
स्टोर सुरु भएको दुई महिनामा नै दुवै स्टोरले २० करोड भन्दा बढीको व्यापार गरेको छ । आगामी चार वर्षभित्र एप्पलले विश्वव्यापी रूपमा ५३ वटा स्टोर खोल्ने, स्थानान्तरण गर्ने र पुनर्निर्माण गर्ने योजना बनाएको ब्लूमबर्गमा प्रकाशित एक लेखका बताएको छ ।
यस मध्ये, भारतमा मात्रै तीन नयाँ स्टोर खोलिने छ । कम्पनीले नयाँ स्टोरहरूको लागि स्थानहरू पनि सर्टलिस्ट गरिसकेको बताइएको छ ।
तेस्रो एप्पल स्टोर सन् २०२५ मा मुम्बईको बोरिवलीमा खोलिने अपेक्षा गरिएको छ । त्यस्तै चौथो स्टोर सन् २०२६ मा नोइडाको डीएलएफ मलमा हुने योजना छ भने पाँचौं स्टोर २०२७ मा मुम्बईकै वर्ली क्षेत्रमा स्थापना गरिने बताइएको छ ।
भारतमा बढ्दो एप्पल प्रयोगकर्ताको संख्याका कारण पनि कम्पनीले भारतमा बजार विस्तार गर्ने योजना बनाइरहेको छ ।
साथै आगामी वर्षहरूमा भारतमा उत्पादन हुने आईफोनको संख्या पनि बढाउँदै लाने कम्पनीको योजना छ ।
Categorized in बिजनेस