arin enterprises

लिंक्डइन नेपालमा दर्ता भयो

SamacharDesk | २०८० आषाढ ११, सोमबार

विभिन्न पेशाकर्मीहरूका लागि उपयोगी सामाजिक सञ्जाल लिंक्डइन पनि नेपालमा दर्ता भएको छ ।

माइक्रोसफ्ट अन्तर्गतको लिंक्डइन गुगलपछि नेपालमा डिजिटल सेवा कर (डीएसटी) तिर्नेगरी दर्ता भएको हो ।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी लिंक्डइन नेपालमा दर्ता भएको आन्तरिक राजस्व विभागले जनाए ।

विभागका अनुसार कम्पनीले अब नेपालमा हुने आफ्नो कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) का साथै दुई प्रतिशत डीएसटी समेत तिर्नेछ ।

लिंक्डइन पेशाकर्मीहरूका लागि पेशागत अनुभव, शैक्षिक योग्यता, सम्बन्धित पेशाकर्मीहरूको सञ्जाल मात्र नभएर रोजगारी खोज्न तथा उपलब्ध गराउने प्रयोजनका लागि समेत लोकप्रिय छ ।

गत वैशाखमा गुगल नेपालमा कर तिर्नेगरी दर्ता भएको थियो । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट गैरबासिन्दा व्यक्तिले नेपालमा विद्युतीय सेवा उपलब्ध गराउँदा त्यसको कारोबारमा दुई प्रतिशत डिजिटल सेवा कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।

यद्यपि कम्पनीले नेपालमै कार्यालय खोल्ने विषय भने स्पष्ट भइसकेको छैन ।

Categorized in बिजनेस