भारी वर्षाका कारण भारत र पाकिस्तानको जनजीवन अस्तव्यस्त
SamacharDesk | २०८० आषाढ २५, सोमबार

भारतका विभिन्न भागमा अत्यधिक बर्षाले जनजीवन अस्तब्यस्त बनेपछि विद्यालयहरु बन्द गरिएका छन् ।
राजधानी नयाँ दिल्ली लगायत शहरका सडकहरु जलमग्न भएसँगै जनजीवन प्रभावित भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ ।
केजरीवालले ट्विट गर्दै दिल्लीमा विगत दुई दिनदेखि परेको मुसलधारे वर्षा र मौसम विभागको चेतावनीलाई ध्यानमा राख्दै दिल्लीका सबै विद्यालय एक दिनका लागि बन्द गरिएको जनाउनुभएको हो ।
वर्षाका कारण धेरै क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा पनि प्रभावित भएको छ । यसैगरी, उत्तर प्रदेशको गाजियाबादमा पनि प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
गाजियाबादका जिल्ला मजिस्ट्रेटले भारी वर्षालाई ध्यानमा राख्दै आज र भोलि विद्यालयमा बिदा दिने घोषणा गरेका हुन् ।
यता अविरल वर्षा र बाढी कै कारण पाकिस्तानमा अहिलेसम्म कम्तिमा ७६ जनाले ज्यान गुमाइसकेको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएको उल्लेख गरेको छ । हालसम्म मृत्यु हुने ७६ जनामा १५ महिला र ३१ बालबालिका रहेका छन् ।
वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ । भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ। खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ ।
Categorized in अन्तर्राष्ट्रिय