शंखमूलमा पुरुषोत्तम महात्म्य वाचन कार्यक्रम जारी
SamacharDesk – बिराज | २०८० श्रावण १०, बुधबार

जोशी समाज केन्द्रीय समितिले पुरुषोत्तम मासको अवसरमा एक महिने पुरुषोत्तम महात्म्य कथा वाचन कार्यक्रमको आयोजना गरेको छ । अहिले पुरुषोत्तम मास जारी रहेको बेला समाजले एक महिने पुरुषोत्तम महात्म्य कथा वाचन, पूजापाठ र भजनकीर्तन कार्यक्रमको आयोजना गरेको हो ।
समाजले गत श्रावण २ गतेबाट ललितपुरको शंखमूलस्थित महामृत्युञ्जय घाटमा पुरुषोत्तम महात्म्य कथा वाचन कार्यक्रम सुरु गरेको हो ।
धर्म संस्कृति, परम्पराको संरक्षण र प्रचार प्रसारको लागि कार्यक्रमको आयोजना गरेको समाजका अध्यक्ष ज्ञानेशमान जोशीले बताए । कार्यक्रम सहभागी भई पुण्य लाभ गर्न अध्यक्ष जोशीले सबैमा आह्वान गरे ।
समाजका सदस्य, पदाधिकारी साथै भक्तजनको साथ, सहयोगबाट नै कार्यक्रमले निरन्तरता पाउन सम्भव भएको पनि जोशीले भने ।
‘कार्यक्रमलाई समाजका पदाधिकारी, सदस्यहरु साथै भक्तजनहरुले सहयोग गरेको छन् । सहयोगको लागि हामीले विभिन्न निकायमा अनुरोध गरेका थिथौं । सबैतिरबाट आश्वासन चाहिँ पाएका छौं, अहिलेसम्म सहयोग भने कतैबाट पाएका छैनौं’ जोशीको भनाई हो ।
कार्यक्रम आउँदो श्रावण ३१ गते बुधबारसम्म हुनेछ । कार्यक्रममा हरेक दिन दिउँसोको ३ बजेदेखि ५ बजेसम्म ललितपुरका देव ब्राह्मणहरुबाट पुरुषोत्तम महात्म्य कथा वाचनको साथमा पूजापाठ र भजन किर्तन कार्यक्रम भइरहेको छ ।
कार्यक्रमकै क्रममा समाजले हरेक दिन महामृत्युञ्जय घाटमा रहेका विभिन्न मन्दिर साथै महामृत्युञ्जय महादेवको नित्य पूजा पनि गर्ने गरिएको छ ।
हरेक ३ वर्षमा एक पटक आउने अहिले पुरुषोत्तम मास अहिले जारी छ । हरेक वर्ष १२ महिना रहनेमा तीन वर्षको एक पटक भने १३औं महिना पनि पर्न आउँछ । यसै १३ औं महिनालाई पुरुषोत्तम मास भनिने हो ।
बढि हुन आएको महिना भएकोले अधिकमास वा १२ वटा महिनाको मयल निस्केर थप हुन आउने महिना भनेर यसलाई मलमास पनि भनिन्छ भने यस महिनाको स्वामी भगवान नारायणको पुरुषोत्तम रहेको भएको मान्यता अनुसार यसलाई पुरुषोत्तम महिना भनिएको हो ।
यो महिनामा ठुलठुला धार्मिक अनुष्ठान केही गरिन्न तर, पुरुषोत्तम महात्म्य श्रवण आदि भने गरिन्छ । पुरुषोत्तम महिनामा पुरुषोत्तम महात्म्य श्रवण गर्नाले ठुलो पुण्य पाइने जनविश्वास रहेको छ ।
Categorized in संस्कृति