arin enterprises

बाढीपहिरोका कारण मृत्युदर बढ्दै, दर्जनौं बेपत्ता

SamacharDesk | २०८० श्रावण २३, मंगलबार

अविरल वर्षा तथा बाढीपहिरोका कारण देशभर जनधनको क्षति भएको छ भने थुप्रै घरहरु डुबानमा परेका छन् ।

मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर ५ को सिक्रेमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एकै पाँच जनासहित ६ जना बेपत्ता भएका छन् ।

पुरिएका मध्ये एक जनाको शव फेला परेको छ भने अन्य छ जना हराइरहेका छन् । यस्तै काभ्रेको खानीखोला गाउँपालका वडा नम्बर ५ स्थायी घर भई मकवनपुरको सिक्रेदोभानमा बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो ।

पहिरोमा परी उनकी श्रीमती सञ्चमाया स्याङ्तानको मृत्यु भएको छ भने अक्कलबहादुरसहित परिवारका अन्य सदस्य र एक जना आफन्त बेपत्ता छन् ।

पहिरोमा बेपत्ता हुनेहरुमा घरधनी अक्कलबहादुर, छोरी शिला स्याङ्तान, ज्वाई जीवन पहरी तथा २ वर्षीय छोरा तेज पहरी र १ वर्षीया छोरी देव्यणी पहरी तथा सिन्धुली घर भएका आफन्त पासाङ घिसिङ रहेका छन् ।

घर नजिकैको खोल्सा पानीको बहाव बढेर पहिरो जाँदा घर बगेर बाग्मती नदीमा पुगेको स्थानीयले बताएका छन् । काभ्रेको ताल्ढुंगा प्रहरी चौकीको टोली र मकवानपुरको भोर्लेनीमा रहेको प्रहरी टोली घट्ना स्थल पुगेर खोजी तथा उद्धार गरिरहेका छन् ।

अविरल वर्षाले खानीखोला ५ मा रहेको लघु जलविद्युत आयोजना पनि पुरिएको छ । उता सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

रौतहटको गढिमाईबाट बरहथवास्थित हजरियातर्फ रहेको खेतमा काम गर्न गएका गढिमाई–२ समनपुरका ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा आएको बाढीले बगाएर मृत्यु भएको हो ।

सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीको समनपुर घाटमा पक्की पुल भएपनि अविरल वर्षाका कारण पुलको दायाँबायाँ दुवैतर्फ बाढी पसेर जलमग्न बनेको छ ।

यस्तै चुरे क्षेत्रमा परेको निरन्तर वर्षासँगै आएको बाढीले धनुषामा तीन जनालाई बगाएको छ । बगाएकामध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएकोे प्रहरीले जनाएको छ ।

जनकपुरको मिथिला नगरपालिका–२ को अनन्तपुरमा खोलाले बगाउँदा स्थानीय १६ वर्षीय अजय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । खोला तर्ने क्रममा बाढीले बगाएका उनको उद्धारपछि उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै कमला नदीमा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बाढीले गणेशमान चारनाथ नगरपालिका–७ का ३५ वर्षीय साजन परियार र ३० वर्षीय माया परियार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

श्रीमान–श्रीमती रहेका उनीहरूलाई नदीबाट दाउरा टिपेर घर फर्किने क्रममा बाढीले बगाएको थियो । यसबिच कमला नदिमा पानीको सतह बढेकाले स्थानीय प्रशासनले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।

Categorized in राष्ट्रिय