arin enterprises

प्रतिनिधिसभा बैठक बुधबार पनि अवरुद्ध

SamacharDesk | २०८० श्रावण २४, बुधबार

प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा पनि सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको हो ।

बैठकको शुरुमै उठेर बिरोध जनाएका एमाले सांसदहरुको तर्फबाट बोल्दै एमाले सांसद सूर्यबहादुर थापाले गृहमन्त्रीको मंगलवारको मन्तव्यमा छानबिन समिति गठन गर्ने नभनिएको भन्दै आफूहरुको बिरोध जारी रहने बताउनु भयो ।

सांसद थापाले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरु पनि उठेर बिरोध जनाएका थिए । सभामुखले पटक–पटक बसेर बैठक सञ्चालनमा सहयोग गर्न अनुरोध गरेपनि सांसदहरु नबसेपछि अवरोधकै बीचमा सांसद थापाले आफ्नो भनाई टुंग्याएका थिए । लगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।

एमालेले साउन १० यता प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध गर्दै आएको छ । साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टलभन्दा बढी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

त्यसको छानबिन सुरुमा राजस्व अनुसन्धान विभाग गरेको थियो भने पछि नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको छ । एमालेले उक्त सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद् अवरोध गरेर दबाब दिइरहेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सुन तस्करीको छानबिन राज्यका नियमित संयन्त्रहरूले गर्नुपर्ने र उनीहरूलाई विश्वास गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा आग्रह गर्नुभएको थियो ।

सीआईबीले छानबिन गरी मुद्दा अगाडि बढाएपछि त्यसमा चित्त नबुझेमा थप अनुसन्धान तथा छानबिनका लागि सरकार तयार रहेको उहाँको भनाइ थियो ।

आजको  बैठकमा एमालेका सांसद सूर्य थापाले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको बताउनुभयो । सभामुखले पटक पटक बैठक सञ्चालन गर्न सघाउन आग्रह गरेपनि एमालले नाराबाजी रोकेन ।

प्रतिनिधि सभाको आगामी बैठक साउन २६ गते शुक्रवार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।

Categorized in राजनीति