arin enterprises

कडा रोगको उपचारमा सरकारले ४ लाखसम्मको सहुलियत दिने

SamacharDesk | २०८० मङ्सिर १४, बिहिबार

सरकारले गरिबी, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत दिने भएको छ ।

यसकालागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ । विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कडा रोगको उपचार खर्च स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि, २०७८’ लाई खारेज गरेर नयाँ निर्देशिका जारी गर्दै मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि बढीमा चार लाख रुपैयाँसम्मको उपचारमा सहुलियत दिने व्यवस्था गरेको हो ।

मुटु प्रत्यारोपणका लागि चार लाख र औषधिका लागि एक लाख, मुटुसम्बन्धी अन्य रोगका लागि एक लाख उपलब्ध गराइने ‘विपन्न नागरिक औषधी उपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८०’ मा उल्लेख छ ।

सरकारले तोकिएको सहुलियत सीमाभित्र रहेर ती कडा खालका बिरामीलाई औषधि, औषधीजन्य सामग्री, प्रयोगशाला सेवा, शल्यक्रिया, शय्या उपलब्ध गराउने व्यवस्था छ ।

सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको कुल बजेटको शून्य दशमलव पाँच प्रतिशत रकम छुट्टाएको मन्त्रालयले जनाएको छ ।

सो उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने छ । त्यस्तै चिकित्सकको सिफारिस, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन सम्बन्धित स्थानीय तहमा पेस गर्नुपर्नेछ ।

निवेदन तथा आवश्यक कागजात प्राप्त भएपछि स्थानीय तहले जाँचबुझ गरी बिरामीको पारिवारिक आर्थिक अवस्था हेरी औषधि उपचार सहुलियत उपलब्ध गराउन अस्पताललाई सिफारिस गर्नेछ ।

विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्ने कार्यलाई प्रभावकारी व्यवस्थापनका लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र स्थापना गर्नुपर्ने निर्देशिका उल्लेख छ ।

Categorized in राष्ट्रिय