arin enterprises

सामसुंङको ग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक

SamacharDesk – Aakash Rajopadhyaya | २०८० पौष २, सोमबार

सामसुंङले ग्यालेक्सी बुक फोर सिरिज ल्यापटप सार्वजनिक गरेको छ । शुक्रबार दक्षिण कोरियामा एक कार्यक्रम गर्दै सामसुंङले तीनवटा ग्यालेक्सी बुक फोर सिरिज सार्वजनिक गरेको हो ।

यसअन्तर्गत ग्यालेक्सी बुक ४ अल्ट्रा, ग्यालेक्सी बुक ४ प्रो र ग्यालेक्सी बुक ४ प्रो ३६० रहेका छन् ।

यी सबै ल्यापटपमा इन्टेल कोर अल्ट्रा नाइन प्रोसेसर र एनभिदियाको जी-फोर्स आरटीएक्स ४०७० जीजीयू राख्नुका साथै एआईको लागि न्यूरल प्रोसेसिङ युनिट (एनपीयू) जडान गरिएको छ ।

यी तीनैवटामा एआई एकीकृत गरिएको हुँदा प्रयोगकर्ताको उत्पादकता तथा गतिशीलता बढ्ने कम्पनीको दाबी छ ।

सामसङले सबै मोडलमा सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू), ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) सुधार गरेको तथा थपेको जनाएको छ ।

सार्वजनिक भएको ग्यालेक्सी बुक फोर अल्ट्रा र ग्यालेक्सी बुक फोर प्रो ३६० को डिस्प्ले १६ इन्च र ग्यालेक्सी बुक फोर प्रो १४ इन्चको हुनेछ ।

यस्तै स्क्रिन डिस्प्ले भने भिजन बुस्टरसहित डाइनामिक एमोलेड टू एक्स टच हुनेछ । बुक फोर अल्ट्रामा भने एनभिदिया डिप लर्निङ सुपर स्याम्पलिङ (डीएलएसएस) प्रविधि राखिएको छ । जसले गेम तथा एपका लागि उच्च गुणस्तरको तस्वीर तयार पार्ने बताएको छ ।

सुरक्षाका लागि कम्पनीले ल्यापटपमा आफ्नै सामसुङ नक्स सेक्युरिटी चिप राखेको छ ।

त्यस्तै अडियोका लागि सामसुङले एकेजी क्वाड स्पिकर राख्ने भएको छ ।

यसको साथै यी सबै मोडलहरुमा सामसुङ स्टुडियो, फोटो रिमास्टर र सेकेन्ड स्क्रिन लगायतका फिचर हुने बताइएको छ ।

यो ल्यापटप अहिले बजारमा भने छैन । यसको बिक्रीवितरण २०२४ लागेसँगै गरिने अनुमान गरिएको छ ।

यस्तै ल्यापटपको मूल्य भने कम्पनीले खुलाएको छैन । तर यसको मुल्य १५०० डलर (दुई लाख नेपाली रुपैयाँ) वाट सुरु हुने बताएको छ ।

Categorized in बिजनेस