द क्लिफको ‘सेटअप’मा केरलामा बञ्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा
SamacharDesk – विजनेस ब्यूरो | २०८० माघ ११, बिहिबार

द क्लिफ नेपालको सेटअपमा भारतको केरलामा नयाँ बञ्जीसहितको एड्भेन्चर पार्क सञ्चालनमा आएको छ ।
आफुसँगै बन्जी क्रू प्रशिक्षक प्रकाश प्रधान सहितको प्राबिधिक टोली यस परियोजनामा संलग्न रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । प्रधान पहिलो नेपाली बन्जी मास्टर समेत हुन् ।
केरालामा वाया नाडा कम्पनीले निर्माण गरेको बञ्जीजम्पसँगै स्काईवाक, स्विङ (पिङ), सुपरम्यान स्विङ लगायतका साहसिक गतिविधिको सेटअप गर्नुका साथै प्राविधिक जनशक्ति द क्लिफमा उपलब्ध गराउने कार्कीको भनाइ छ ।
भारतिय रुपैयाँ करिब ४० करोड लगानीमा निर्माण भएको बन्जी सहितको एड्भेन्चर पार्कमा रहेको बन्जी पहिलो चरणमा क्रेनबाट सञ्चालन हुने बताइएको छ । ८० मिटर उचाइ रहेको यस बञ्जीको नाम क्रेन बञ्जी राखिएको छ ।
दोस्रो चरणमा सञ्चालन हुने बन्जीको उचाइ १६० मिटरको हुने बताइएको छ । उक्त बन्जीको निर्माण सम्पन्न हुँदा भारतको सबैभन्दा अग्लो बन्जी हुने अध्यक्ष कार्की बताउँछन् ।
यससँगै केरलाका अन्य तीन ठाउँमा पनि बन्जी सञ्चालन गर्ने क्लिफको तयारी छ ।
मुक्तिनाथ दर्शनका लागि केरलाबाट आउने तीर्थयात्रीले पर्वत र बाग्लुङ सीमामा द क्लिफद्वारा सञ्चालित बन्जी देखेपछि आफ्नो क्षेत्रमा पनि बन्जी सञ्चालन गर्न सकिने विषयमा चासो राखेपछि क्लिफको टिम केरलामा सम्भाव्यता अध्ययनका लागि गएको थियो ।
Categorized in बिजनेस