arin enterprises

पहिलोपटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको मस्कको दाबी

SamacharDesk | २०८० माघ १६, मंगलबार

न्युरालिंकले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गरेको छ । न्युरालिंकका संस्थापक एलन मस्कले सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै आइतवार पहिलो पटक मानव मस्तिष्कमा चिप राखिएको दाबी गरेका हुन् ।

उक्त पोस्टमा मस्कले चिप प्रत्यारोपण गरिएको व्यक्ति निको हुँदै गइरहेको उल्लेख गरेका छन् ।

न्युरालिंकको पहिलो प्रडक्टलाई मस्कले टेलिप्याथी नाम दिएका छन् । मस्कका अनुसार यसको सहायताले व्यक्तिले सोचेकै भरमा आफ्नो फोन, कम्प्युटर वा अन्य कुनै डिभाइस नियन्त्रण गर्नसक्नेछ ।

“हिजो न्युरालिंकवाट पहिलो मानवमा चिप प्रत्यारोपण गरियो, ऊ निको हुँदै गइरहेको छ । सुरुवाती अवस्थामा आशाजनक न्युरल स्पाइक पत्ता लगेको छ” एक्समा मस्कले लेखेका छन् ।

गत वर्ष अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले न्युरालिंकलाई मानवमा चिप प्रत्यारोपण गर्न अनुमति दिएको थियो ।

विशेषगरी गम्भीर पक्षाघात भएका र हात खुट्टा गुमाएका व्यक्तिले न्युरल सिग्नलको सहायता विभिन्न प्रविधि प्रयोग गर्न सकून् भन्ने उद्देश्यले कम्पनीले मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने अवधारणा अगाडि बढाएको थियो ।

अर्थात् जो व्यक्ति भौतिक रूपमा कमजोर छन्, तर मानसिक रुपमा तन्दुरुस्त भएकाहरुको लागि यो प्रविधि बरदान हुने मस्कको अपेक्षा छ ।

न्युरालिंकले हालसम्म यो परीक्षणका लागि कति व्यक्ति सहभागी भएका छन् भन्ने खुलाएको छैन ।

न्युरालिंक मात्र नभई प्रिसिसन न्युरोसाइन्स भन्ने कम्पनीले गत वर्ष मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न सकिने विषयबारे अध्ययन गरि प्रतिवेदन सार्वजनिक गरेको थियो ।

यस्तै ब्रेन कम्प्युटर इन्टफेसका लागि पाराड्रोमिक्स नामक कम्पनी पनि यो दौडमा अगाडि बढिरेहको छ ।

यो वर्षको मध्यसम्म उक्त कम्पनीले मानवमा पहिलो पटक चिप प्रत्यारोपण गर्ने सीएनबीसीले जनाएको छ ।

Categorized in विज्ञान-प्रविधी