ह्वाट्सएपमा जुनसुकै एपबाट पनि मेसेज पठाउन मिल्ने फिचर आउँदै
SamacharDesk | २०८० माघ २८, आइतबार

ह्वाट्सएपमा जुनसुकै मेसेजिङ एपबाट मेसेज पठाउन सकिने फिचर आउने भएको छ । युरोपेली संघको डिजिटल मार्केट एक्ट (डीएमए) मा मेसेजिङ एपमा अन्तरआवद्धता कायम हुनुपर्ने नीति आएसँगै कम्पनीले जुनसुकै मेसेजिङ प्लेटफर्मबाट मेसेज पठाउन सकिने फिचर ल्याउन लागेको हो ।
यो फिचर आउने आएमा थर्ड पार्टी मेसेजिङ एपजस्तै आईमेसेज, टेलिग्राम, गुगल मेसेज तथा सिग्नलबाट ह्वाट्सपमा र ह्वाट्एपबाट यी मेसेजिङ एपमा टेक्स्ट, तस्वीर, भ्वाइस मेसेज, भिडियो र फाइलस् पठाउन सक्नेछन् ।
त्यस्तै थर्ड–पार्टी एपले पनि प्रयोगकर्ताको मेसेज तथा अन्य डेटा इन्क्रिप्टेड राख्ने सम्झौतामा मेटासँग सम्झौता गर्नुपर्ने हुन्छ । मेटाले यो फिचर कहिलेदेखि उपलब्ध गराउँछ भन्नेबारे स्पष्ट जानकारी बाहिर आएको छैन ।
त्यस्तोमा मेटाले मेसेज कसरी सुरक्षित तथा इन्क्रिप्टेट राख्न सक्छ भन्ने सवाल निम्तिएको छ । ह्वाट्सएपका इन्जिनियरिङ डाइरेक्टर डिक ब्राउवरका अनुसार कम्पनीले तेस्रो पक्षसँग ह्वाट्सएप च्याट सुरक्षित तथा गोप्य राख्नका लागि विभिन्न काम गरिरहेको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यम वायर्डले उल्लेख गरे अनुसार ह्वाट्सएपले आफूसँग जोडिने मेसेजिङ सर्भिसलाई उही सिग्नल प्रोटोकलमा जोडेर इन्क्रिप्सन कायम गर्ने योजना बनाएको छ ।
डीएमएले ह्वाट्सएपलाई डिजिटल गेटकिपरका रुपमा परिभाषित गरेपछि कम्पनीले यस्तो परिवर्तन ल्याउन लागेको बताइएको छ ।
डिजिटल गेटकिपर भएकाले मेटाले विभिन्न डिजिटल सेवाहरूबीच प्रतिस्पर्धा वृद्धि गर्न नियमहरू पालना गर्नुपर्ने हुन्छ । डीएमएले मेटालाई मार्च २०२४ सम्म यस्तो फिचर कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो ।
Categorized in विज्ञान-प्रविधी