थप ७ जना संक्रमित निको भए, निको हुनेको संख्या १८३
SamacharDesk – विकाश | २०७७ जेठ १४, बुधबार

आज थप ७ जनाले कोरोना संक्रमणलाई परास्त गर्दै निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक कोशी अस्पतालबाट ४ जना र सुशील कोईराला क्यान्सर प्रखर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् ।
आज कोशी अस्पतालबाट डिस्चार्ज हुनेमा ३ जना महिला र एक जना पुरुष रहेका छन् । तिनीहरु ३६ देखि ६५ वर्षसम्मका रहेका छन् भने सबै उदयपुरबाट हुन् ।
अस्पतालमा १७ देखि ३६ दिनसम्मको उपचारपछि चार जना निको भएर घर फर्केका हुन् ।
बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला क्यान्सर प्रखर अस्पतालमा उपचाररत ३ जना पनि आजै निको भएर घर फर्केका छन् ।
तीमध्ये दुई जना बाँकेका रहेका छन् । बाँकेका २४ वर्षीय पुरुष ११औं दिनमा डिस्चार्ज भएका हुन् भने ५५ वर्षीया महिला २२ दिनको अस्पताल बसाईँपछि घर फर्केका हुन् ।
वर्दियाका ११ वर्षीया बालिका १६औं दिनमा घर फर्केकी छन् ।
योभन्दा अघि कोरोना उपचारका लागि नारायणी अस्पतालकै शाखाको रुपमा गण्डक अस्पतालबाट मंगलबार राती २१ जना डिस्चार्ज भएका छन् । तिनीहरु सबै पर्साका हुन् भने डेढ वर्षदेखि ६२ वर्षसम्मका ५ जना महिला र १६ जना पुरुष रहेका छन् ।
पछिल्लो दुई वटाको नमूना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । लगातार दुई वटा रिपोर्ट नेगेटिभ आएपछि मात्रै कोरोना संक्रमण निको भएको मानिन्छ ।
संक्रमण निको भएर घर फर्किनेहरुले अझै दुई हप्ता भने घरमै सेल्फ आइसोलेसनमा बस्नुपर्ने हुन्छ । दुइ हप्ता पुनः संक्रमण हुने सम्भावना रहने चिकित्सकहरुको भनाई छ ।
योसँगै नेपालमा कोरोना संक्रमणलाई जितेर निको हुनेको संख्या १८३ पुगेको छ । तीमध्ये एक सय ४२ जना पुरुष रहेका छन् भने ४१ जना महिला छन् ।
प्रादेशिक विवरण अनुसार प्रदेश १ मा कोरोना निको हुनेको संख्या ३० जना छ भने प्रदेश २ मा ९७ जना निको भएका छन् । त्यसैगरी वागमती प्रदेशमा ११ जनाले कोरोनालाई हराएका छन् ।
गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३८ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना निको भएका छन् ।
Categorized in समाज