arin enterprises

श्रीमान् श्रीमतीका पक्षधरहरुबीच बैठकमै कुटाकुट

SamacharDesk | २०८० चैत्र २०, मंगलबार

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को सोमबार बसेको केन्द्रीय बैठकमै श्रीमान श्रीमतीका पक्षधरहरुबीच कुटाकुट भएको छ ।

सोमबार दिउँसो अनामनगरस्थित पार्टी कार्यालयमा संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठका समर्थकहरुबीच हात हालाहाल हुँदा केन्द्रीय कार्यालय तनावपूर्ण बनेको थियो ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि संस्थापक चौधरी र अध्यक्ष श्रेष्ठबीच विवाद बढ्दै गएको थियो । सुदूरपश्चिममा कांग्रेससहितको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रेशम र नयाँ गठबन्धन अनुसार सुदूरपश्चिममा पनि समीकरण बनाउनु पर्ने पक्षमा रहेकी रञ्जिताबीचको विवादले उग्र रुप लिएको हो ।

संस्थापक चौधरी पक्षले अध्यक्ष श्रेष्ठ पक्षमाथि हात हालेको र दुई जना सामान्य घाइते भएको बुझिएको छ । कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको जनाइएको छ । कुटपिटपछि रञ्जिता पक्ष वैठक छाडेर हिंडेको थियो ।

गत २६–२८ पुसमा टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनले रञ्जितालाई हटाएर रेशम चौधरी अध्यक्ष रहेको नयाँ समिति चयन गरेको थियो ।

तर २८ फागुनमा निर्वाचन आयोगले पहिलो महाधिवेशनबाट रेशमलाई अध्यक्ष बनाउने निर्णय अस्वीकार गर्दै रञ्जिता अध्यक्ष रहेकै नेतृत्वलाई निरन्तरता दियो ।

राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको विधान विपरीत महाधिवेशनले निर्णय गरेकाले रेशम अध्यक्ष बन्न नसक्ने निर्णय आयोगले गरेको थियो ।

Categorized in राजनीति