arin enterprises

सिकाली अजिमाका देवगणहरु नासल चोकमा नचाईंदै

SamacharDesk – राम डंगोल | २०८० चैत्र २३, शुक्रबार

खोकनाको १२ वर्षे सिकाली जात्रा हिजो काठमाडौं आइपुगेको छ ।

चैत्र २२ गते काठमाडौं पुगेका देवगणहरु हिजो पचलीबाट हनुमानढोका पुगेपछि हनुमानढोकाको नासल चोकमा भैरव नाच पनि देखाइएको थियो ।

देवगणहरु खोकनाबाट पैदलै यात्रा गरी काठमाडौं आइपुगेको हो । यस क्रममा ठाउँठाउँमा पूजा ग्रहण गर्दै काठमाडौं आइपुगेका थिए ।

सो क्रममा पचलीबाट देवगणहरु मचली हुँदै चल्खु, मुसुंबहाः, सिकाली, कुमाःननि, ओन्दे, ह्यूमत, जैसीदेगल, कोहिटी, भीमसेनस्थान, मरु, प्याफल, कम्पुकोटको आर्मी गेटबाट मखन महिन्द्रेश्वर महादेव हुँदै हनुमानढोका नासल पुगेका थिए ।

जात्रा अन्तर्गत हिजो देवगणहरु पचली पुग्दा सुरुमा भैरव एक्लै देव वस्त्र धारण नगरी पचली भैरवको प्रांगणमा पूजा गरिएको थियो । पूजापश्चात सबै देवगणहरु वस्त्र धारण गरी पचली भैरव मन्दिरमा प्रवेश गरेको थियो ।

मन्दिरको प्राङगणमा सबै देवगणहरुको नाच देखाइएको थियो । यसरी नाचका क्रममा भैरवबाट मन्दिरस्थित बेतालको माथि चढेर जाने परम्परा अनुरुप बेतालको जिउमाथि चढेर नाच देखाइएको थियो ।

पचलीबाट हनुमानढोका जाने क्रममा मचली चल्खुमा सुनको ढोकाबाट देवगणहरुलाई प्रवेश गराइएको थियो । हनुमानढोका पुगेका देवगणहरुले तीनवटा नाच प्रर्दशन गर्नुपर्ने परम्परा छ ।

मल्लकालमा नासल चोकमा मल्ल राजाहरुको लागि, त्रिशुल चोकमा तलेजु भवानीको लागि र कालभैरव पछाडिको डबलीमा सर्वसाधारणका लागि देखाउने परम्परा रहेको छ ।

सोही अनुरुप २२ र २३ गते हिजो र आज हनुमानढोकाको नासल चोकमा र २९ र ३० गते त्रिशुल चोकमा र वैशाख ९ र १० गते कालभैरव पछाडिको डबलीमा सिकाली नाच देखाइन्छ ।

त्यसैगरी जन समुदायबाट माग र व्यवस्थापन भएमा इन्द्रचोक, लगन र सिंहसतल लगायतका स्थानमा पनि नाच प्रदर्शन गरिने व्यवस्थापन तथा समन्वय समितिले जनाएको छ ।

Categorized in संस्कृति