arin enterprises

४० बिदेशीसहित ३२४ धावकको सहभागीतामा ’चौथो मन्जुश्री ट्रेल रेस’ सुरू

SamacharDesk – समाचारडेस्क स्पोर्ट्स डेस्क | २०८० चैत्र २३, शुक्रबार

चौथो संस्करणको मन्जुश्री ट्रेल रेस सुरू भएको छ । शुक्रबार इचंगुनारायणस्थित सिंगल ट्रीबाट सय माइलको दौड सुरू गरिएको हो ।

शुक्रबार र शनिबार हुने विभिन्न चरणको रेसमा नेपालसहित १६ मुलुकका ३२४ धावकहरू सहभागी छन्, जसमा ४० जना विदेशी धावक छन् । त्यस्तै २८९ महिला र ३५ जना पुरुष धावक छन् ।

विभिन्न चरणमध्ये सय माइलको दौडमा ४ महिलासहित १८ धावक सहभागी छन् । यस संस्करणमा नेपाल, चीन, सिंगापुर, बेलायत, डेनमार्क, इण्डिया, बेलारुस, इण्डोनेसियाका धावकहरू सहभागी भएको रेसका अध्यक्ष सुवास थापाले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ट्रेल रेसको प्रतिष्ठित एमसी सोफीले पनि यस रेसमा सहभागीता जनाएकी हुन् ।

धावकहरूले काठमाडौं उपत्यका वरिपरीका सातवटा प्रमुख चुचुराहरू जामाचो, शिवपुरी, नगरकोट, फूल्चोकी, चम्पादेवी, भस्मासुर र चन्द्रागिरि हुँदै १०० माइल दूरी पार गर्नेछन् ।

एसिया ट्रेल मास्टर च्याम्पियन रशिला तामाङले यो रेस सगरमाथाको भन्दा बढी उचाइ गेन गरिने रेस भएको बताइन् । सय माइलको मञ्जुश्री ट्रेल रेस पार गर्दा विभिन्न चुचुरा चड्ने र झर्ने गरेर १२ हजार ६९५ मिटरको उचाई गेन गरिने तामाङले बताइन् ।

त्यसैगरी आजै राति ८ बजे सय किलोमिटरको दौड झुलेबाट, भोलि शनिबार ५० किलोमिटरको दौड बडिखेलबाट र मञ्जुश्री ट्रेल रेससँग आवद्ध ट्रेलमाण्डुको ३० किलोमिटरको केभीआर स्टेज रेस शनिबारे फर्पिङको डोल्लुबाट सुरू हुँदैछ । यो ट्रेलमाण्डुको ५ स्टेज रेसको फाइनल खेल हो । यसमा सय जना धावक सहभागी हुँदैछन् ।

त्यसैगरी शनिबार कालुपाँडे डाँडाबाट १० किमिको रेस सुरू भइ सिंगल ट्रीमै सम्पन्न हुँदैछ । गत वर्षको सम्पन्न तेस्रो संस्करणको मञ्जुश्री ट्रेल रेसमा ६७ जना नेपाली र २१ जना विदेशी गरी जम्मा ८८ जना धावकले भाग लिएका थिए ।

अध्यक्ष थापाका अनुसार शनिबार २ किलोमिटरको विशेष रेसमा भिन्न रुपले सबल बाल–बालिकाहरूको रेस पनि आयोजना हुनेछ, जसमा २० खेलाडी सहभागी हुँदैछन् । १०० माइल यस लामो दौड नेपालकै सबैभन्दा लामो तथा ठुलो संख्यामा सहभागिता रहने दौड पनि हो ।

धावकहरूलाई विभिन्न चेक प्वाइन्छ बनाइ आवश्यक खानेकुरा, पानी तथा आधारभुत औषधि उपलब्ध गराउने व्यवस्था गरिने आयोजकले जनाएको छ । ईमर्जेन्सी अवस्थालाई मध्यनजर राखि सबै चेक प्वाईन्टहरूमा आधारभूत तालिम प्राप्त मेडिकल टिम राखिनुको साथै एम्वुलेन्स तथा अस्पतालहरूसँग पनि समन्वय गरिएको अध्यक्ष थापाले जानकारी दिए  ।

अध्यक्ष थापाका अनुसार १७० किलोमीटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ४० हजार र २० हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । सय किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४० हजार, २५ हजार र १५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

५० किलोमिटर रेसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै ट्रेलमाण्डुको केभिआर १०० स्टेज रेस अन्तर्गत प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र पाउनेछन् ।

साथै यस संस्करणमा थपिएको नयाँ विशेष आयाम तथा खेलाडिहरूको लागी प्रोत्साहन मञ्जुश्री ट्रेल रेसका १०० माइल, १०० किमि र ५० किमिका खेलको पाँचौँ स्थान  भित्र  आउने खेलाडीले स्वत एसिया ट्रेल मास्टर्समा क्वालिफाइ हुनेछन् ।

Categorized in स्पाेर्ट्स