arin enterprises

काठमाडौंमा पाहाँचह्रे पर्व शुरु

SamacharDesk – राम डंगोल | २०८० चैत्र २५, आइतबार

उपत्यकाका नेवार समुदायहरुले आज पाहाँचह्रे पर्व मनाईंदैछ ।

नेवारहरुको ठूलो पर्वको रुपमा मनाउने यसलाई पिशाच चर्तुदर्शीको रुपमा पनि मनाइन्छ । नेपालभाषामा ‘पाहाँ’को अर्थ पाहुना हो भने ‘पासा’को अर्थ साथी हो । चह्रे चन्द्रमासको चौधौँ दिनलाई भनिन्छ।

‘पासा चह्रे’ समेत भनेर मनाइने यो पर्व तीन दिनसम्म धुमधामका साथ मनाईंदैछ । पाहाँचह्रे अन्तर्गत आज पहिलो दिन आज बिहान विभिन्न शक्तिपीठहरुमा पूजा गरी बेलुकी भष्मासुरको डरले लुकेर बसेका महादेवको पूजा गरिन्छ।

लुकुमहाद्यःलाई विशेष गरेर लसुन, भटमास, माछा, छ्वयला, चिउरा राखेर समयबजी चढाउनुका साथै जाँड रक्सी पनि चढाउने गरिन्छ । साथै लुकुमाद्यःलाई सुनको फूल र चाँदीको फूल पनि चढाइन्छ ।

यसरी फूल चढाउँदा सुनको फूल भनेर तोरीको फूल र चाँदीको फूल भनेर मुलाको फूल चढाउने गरिन्छ । यसदिनदेखि विभिन्न शक्तिपीठहरुबाट विभिन्न देवदेवीहरु जगाउने गर्दछ । जसलाई स्थानीय भाषामा “द्यः गमय् थनेगु” भन्ने गर्दछ ।

पाहाँचह्रेको दोस्रो दिन टोलटोलमा साना साना बालबालिकाहरुलाई ‘मरःजा’ खुवाइन्छ । मरःजा अजिमाको प्रसादको रुपमा लिइन्छ । यो व्रतबन्ध नगरेका र बेलविवाह नगरेका सानासाना बालबालिकाहरूलाई खुवाउने गरिन्छ ।

‘मरःजा’ खुवाएमा बालबालिकाहरूलाई भुतप्रेतले नछुने र अनेकौं रोग लाग्नबाट बचाउँने विश्वास रहेको पाइन्छ । श्रद्धालु व्यक्तिहरूले यस अवसरमा कसैले चक्लेट, कसैले बिस्कुट र कसैले मिठाई पनि बालबालिकाहरूलाई वितरण गर्ने गर्छन् ।

पाहाँचह्रेको तेस्रो दिन जिवित देवी कुमारीको उपस्थितिमा काठमाडौंको टुंडिखेलमा घोडा कुदाउने गरिन्छ । घोडेजात्रा काठमाडौंको पर्व भनिए तापनि ललितपुरको भोलाख्यःमा रक्सी खुवाएर मात्तिएको एउटा मात्र घोडा कुडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

त्यस्तै भक्तपुरमा पनि परालको घोडा बनाएर दौडाउने गरिन्छ । पाहाँचःहेको रातमा टेबहालको भद्रकाली, वटुटोलको भद्रकाली देवीको खट र कंकेश्वरी देवीको खट टुंडिखेलमा ल्याएर देउता जुधाइन्छ ।

देउता जुधाउने भनेर टेबहाल वटुका देवीहरूको खटमा चढेर बसेका मानिसहरूको हातमा रहेको बलिरहेको तिंप्वाः साटासाट गरेर तीनपटक खट घुमाएर फर्काउने गरिन्छ ।

पाहाँचह्रेको तेस्रो दिन अर्थात् प्रतिप्रदाका दिन असनमा देउता जुधाउने गरिन्छ । त्यो दिन पनि टेबहाल र वटुका भद्रकाली देवीका खटहरू असन दोबाटोमा दिउँसो ल्याइन्छ । अनि कंकेश्वरी अजिमाको खट जुधाउन असनमा ल्याइन्छ ।

टेबहाल र वटुका भद्रकाली अजिमाको खटका तर्फबाट बलिरहेको तिंप्वाः कंकेश्वरी देवीको खटसँग साटेर तीनपटक खट घुमाएर ठूलो जनमानसका साथ देउता जुधाउने जात्रा सम्पन्न गरिन्छ ।

यसरी देउता जुधाउने भनेर देवीदेवताहरुलाई मिलन गराउनेलाई नै देउता जुधाउने भन्ने गरेको पाइन्छ । यसरी देवीका दिदीबहिनीबिच भेटघाट गर्ने जात्रा भव्य रूपमा मनाउने गरिन्छ ।

यस अवसरमा असनवासीका घरका झ्याल झ्यालबाट जात्रालु भक्तजनहरूको स्वागतार्थ ल्वंचाःमरी फ्याँकेर हर्ष बढ़ाइ ज्ञापन गर्ने गर्दछन् । यसरी देवदेवीहरुको खटलाई पूरै नगर परिक्रममा गरिसकेपछि आँगन घर लगेर प्रतिष्ठान गरिन्छ र जात्रा समापन हुन्छ ।

Categorized in संस्कृति