arin enterprises

संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि थपिँदै

SamacharDesk – विकाश | २०७७ जेठ २२, बिहिबार

नेपालमा कोरोना संक्रमितको संख्या थपिएसँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज १२ जना संक्रमित निको भएको बताएको छ ।

वीरगंजको नारायणी अस्पतालबाट ५ जना र कलैया अस्पताल बाराबाट ७ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उनीहरुको पछिल्लो दुई वटा पिसिआर टेस्टको रिपोर्ट लगातार नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालबाट डिस्चार्ज हुने पाँच जनामध्ये पर्साका ३ जना र बाराका दुई जना रहेको बताइएको छ ।

बाराका दुवै नेपाली सेनाका सैनिक हुन् ।

त्यसैगरी कलैया अस्पतालबाट ७ जना डिस्चार्ज हुनेमा ६ जना प्रहरी कर्मचारी र एक जना पत्रकार रहेको छ ।

योसँगै नेपालमा कोरोना भाईरस (कोभिड १९) संक्रमण निको हुनेको संख्या २ सय ९० पुगेको छ ।

यसको साथै पछिल्लो पटक कोशी अस्पतालबाट थप २७ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङमा १२ जना डिस्चार्ज भएको पुष्टि गरिसकेपछि साँझमा कोशी अस्पतालबाट २७ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुने २७ जनामध्ये झापा, सुनसरी, उदयपुर, धनकुटा, सप्तरी र खोटाङका रहेका छन् ।

Categorized in समाज