लकडाउनको कारण भारतको प्रख्यात एटलस साइकल कम्पनी बन्द
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २२, बिहिबार

केही कम्पनीहरुको उत्पादनसँग व्यापार व्यवसाय मात्र होइन, धेरैको भावना पनि जोडिएको हुन्छ । एउटा कुनै कम्पनी बन्द हुँदा भूगोलको अर्को विन्दुमा बस्ने कसैलाई भावनात्मक हिसाबले चोट पुग्न पनि सक्छ ।
भारतको एउटा साइकल कम्पनी बन्द हुने भएको छ । सो कम्पनी बन्द भएर त्यहाँ कार्यरत कर्मचारीहरु बेरोजगार हुने त छँदैछ । यहि साइकलसँगै आफ्नो बाल्यकाल विताउने जो कोहीलाई मन खिन्न हुनु स्वाभाविक पनि हो ।
भारतको सबैभन्दा ठूलो साइकल कम्पनी एटलस साइकल बन्द भएको छ ।
विश्व साइकल दिवसमा गाजियाबादको साहिबाबादस्थित आफ्नो सबैभन्दा ठूलो कारखाना अनिश्चितकालको लागि बन्द गर्ने एटलस साइकल कम्पनीले निर्णय गरेको छ ।
जसका कारण यहाँ काम गर्ने ७०० कामदारले आफ्नो रोजगारीमा गुमाएका छन् ।
एटलस साइकल कम्पनीले सन् १९५१ मा हरियाणावाट साइकल उत्पादन शुरु गरेको थियो ।
सन् २०१४ को डिसेम्बरमा कम्पनीले आफ्नो मध्य प्रदेशमा रहेको मलानपुर स्थित एक एकाइ बन्द गर्ने निर्णय गरेको थियो । त्यस्तै सन् २०१८ मा सोनिपटको अर्को एउटा एकाइ बन्द भएको थियो ।
त्यसपछि सन् १९८९ देखि चल्दै आएको साहिबाबादस्थित कम्पनीको एउटै मात्र एकाइ सञ्चालनमा थियो । जहाँ लकडाउन हुनु अघि प्रत्येक महिना दुई लाख साइकल बनाइन्थ्यो र वर्षभर करिब ५० लाख हाराहारीमा साइकल उत्पादन हुन्थ्यो ।
तर भारत सरकारले कोरोना भाइरस कोभिड (१९) नियन्त्रणका लागि देशव्यापि लकडाउन गरेपछि आर्थिक दबाब खेप्न नसकेको भन्दै बुधबारदेखि कम्पनीले आफ्नो सबै उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।
एटलस साइकल युनियनका महासचिव महेश कुमारको अनुसार जून १ र २ मा कम्पनीले सबै कर्मचारीहरुलाई दिनभर काम गरेर घर फर्काएको थियो ।
कारखाना चलाउन र कच्चा पदार्थ किन्न समेत रकमको अभाव भएपछिसुचना जारी गर्दै बुधबारदेखि कम्पनीले आफ्ना सबै कर्मचारीलाई छुट्टी दिएको छ ।
Categorized in बिजनेस