रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ आषाढ २६, मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ ।
पार्टी केन्द्रीय समितिको आज (मंगलबार) को बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा ढकाललाई महामन्त्रीको साथै प्रवक्ता र पार्टी केन्द्रीय सदस्य पदबाट समेत हटाइएको हो । ढकाललाई सर्वसम्मतिबाट पदमुक्त गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
हाल पार्टीमा उनको साधारण सदस्यता मात्र कायम गरिएको छ । पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ ।
रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको छ ।
पार्टीभित्र बोलेकै कारण महामन्त्री कारबाहीमा पर्ने कुरालाई स्वाभाविक रुपले लिन सकिन्छ र भन्ने प्रश्नमा प्रवक्ता झाले भन्नुभयो, ‘उहाँले राजनीतिक व्यवहार नदेखाएका कारण कारबाही गरिएको हो ।’
Categorized in राजनीति