प्रधानमन्त्री दाहालले पाएन विश्वासको मत
SamacharDesk | २०८१ आषाढ २९, शुक्रबार

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाएको छ ।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राख्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।
एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । बैठकमा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको हो।
सदनमा उपस्थित २५८ सदस्यमध्ये एक जना प्रतिनिधि सभाका सदस्य भने तटस्थ बसेका थिए । प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले साथ दिए पनि त्यो पर्याप्त भएन । दुई ठुला दल कांग्रेस, एमालेले विपक्षमा मत दिँदा प्रधानमन्त्रीले सदनको बहुमत १३८ सङ्ख्या पुर्याउन सकेन ।
प्रधानमन्त्री दाहालले यो पाँचौँ पटक विश्वासको मत लिएको हो। यसअघि चार पटकसम्म प्रधानमन्त्रीले सदनमा विश्वासको मत पाएका थिए । सङ्घीय संरचनामा दोस्रो पटक भएको निर्वाचनपछि प्रचण्ड २०७९ पुस ११ गते प्रधानमन्त्री नियुक्त भएको थियो।
विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदमा तेस्रो ठूलो दल बनेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएको थियो । त्यसपछि २०७९ साल चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो ।
त्यसबेला उहाँलाई प्रतिनिधिसभा बैठकमा उपस्थित दुई सय ६२ सांसदमध्ये कांग्रेससहित एक सय ७२ जनाले विश्वासको मत दिनुभएको थियो भने विपक्षमा ८९ सांसदको मत परेको थियो ।
एकजना सांसदको तटस्थ मत रहेको थियो । प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिएका थिए । त्यसबेला एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गरेका थिए ।
त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ साल जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिएका थिए ।
त्यसबेला उहाँको पक्षमा एक सय ५७ सांसदले मत दिनुभएको थियो भने एकजना सांसदले तटस्थ मत जाहेर गरेका थिए
Categorized in राजनीति