arin enterprises

साउनको पहिलो सोमबार, शिवालयहरुमो घुइँचो

SamacharDesk | २०८१ श्रावण ७, सोमबार

आज साउन महिनाको पहिलो सोमबार । देशभरका शिवालयहरु तथा पशुपतिनाथ मन्दिर भक्तजनहरुको टूलो घुइँचो लागेको छ ।

सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते आजबाट सुरु भएको हो । आज नै सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण शास्त्री बताउनुहुन्छ ।

साउनको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्ने गर्दछन् ।

हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, चितवनको देवघाट, खोटाङको हलेसीलगायतका तिर्थस्थलमा लागेको छ ।

बोलबम यात्रीहरुले काठमाडौंको सुन्दरीजलबाट शुद्ध जल पैदल हिँडेर ल्याई पशुपतिमा चढाउने गर्दछन् ।

Categorized in संस्कृति