युएईबाट १६८ जना काठमाडौं आइपुगे
SamacharDesk – विकाश | २०७७ जेठ २३, शुक्रबार

कोरोना महामारीका बीच भएको लकडाउनका कारण संयुक्त अरेब इमिरेट्स (युएई ) मा रोकिएका एक सय ६८ जना नेपालीहरु आज साँझ काठमाडौं आइपुगेका छन् ।
एयर अरेबियाको जहाजबाट आज साँझ उनीहरु नेपाल आइपुगेका हुन् । तीमध्ये एक जना बालक समेत रहेको जनाइएको छ ।
सोही विमानमा एउटा शव पनि ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय स्थल श्रोतले जानकारी दिएको छ ।
नेपाल आइपुगेकामा बढि जसो प्रदेश १ का नागरिकहरु रहेको बताइएको छ ।
विमानस्थलमा अभिलेख संकलनपछि उनीहरुलाई नेपाली सेनाले व्यवस्थापन गरेको काठमाडौं, भक्तपुर र ललितपुरको होल्डिङ सेन्टरमा राखिएको छ ।
काठमाडौंमा बनाइएको होल्डिङ सेन्टरमा बागमती, गण्डकी र प्रदेश ५ का नागरिकलाई राखिएको छ भने भक्तपुरमा प्रदेश १ र २ अनि कर्णाली र सुदुर पश्चिम प्रदेशका नागरिकलाई ललितपुरको होल्डिङ सेन्टरमा राखिएको छ ।
होल्डिङ सेन्टरमा उनीहरुको व्यक्तिगत विवरण संकलन गरिनुका साथै स्वास्थ्य परीक्षण पनि हुनेछ ।
त्यसपछि सबैलाई सम्बन्धित प्रदेशहरुको समन्वयमा बनाइएको क्वारेन्टाइनमा पठाइनेछ ।
आजै बिहान म्यानमार एयर फोर्सको विमानमा २६ जना नेपाली म्यानमारबाट काठमाडौं आइपुगेका थिए ।
