arin enterprises

नेपालमै कोरोनाविरुद्ध खोप निर्माण भएको दाबी

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २४, शनिबार

नेपालमा हेटौंडा त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध खोप निर्माण भएको दाबी गरिएको छ ।

संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध खोपको बनाएको दावी गर्दै यस सम्बन्धमा विभिन्न ७३ देशका विज्ञले समेत चासो दिएको बताएका छन् । 

प्रा. डा. दासले विगत ७० दिनदेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटीलाई लिएर शोध गरी उक्त खोप  निर्माण गरेको जिकिर गरेका छन्।

बिहिबार जेनेभास्थित डब्ल्युएचओ कार्यालयले २ घण्टा लामो भिडियो कन्फरेन्समार्फत नेपाल सहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधिको सबन्धमा छलफल गरेका डा. दासले बताए ।

उक्त कन्फरेन्समा विज्ञहरुले औषधि बनाउने विधि, त्यसको परीक्षण लगायतका विषयमा चासो राखेका थिए ।

कन्फरेन्समा डा. दासले औषधि बनाउन प्रयोग हुने वनस्पति तथा जडिबुटीका विषयमा आफूले गरेको अध्ययन विज्ञलाई जानकारी गराउँदै, एन्टिअक्सिडेन्ट एक्टिभिटी र इन्जेमेटिक एक्सनका विषयमा पनि जानकारी दिएको बताए । 

पत्रकार सम्मेलनमार्फत डा. दासले बोटविरुवामा आधारित औषधि निकालेको भन्दै डाक्टरबाट पनि यसबारे आफुलाई प्रतिक्रिया प्राप्त भइरहेको बताए ।  

उनले आफ्नो खोज र यसको प्रक्रियाबारे जानकारी दिँदै परीक्षणका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

डब्ल्युएचओले नेपालमा औषधिको परीक्षण भएपछि मात्र प्रभावकारिता मूल्याङ्कनका लागि नेपाललाई परियोजना स्वीकृत गरेर ५ लाख डलरको ट्रायल फण्ड दिनसक्ने संकेत गरेको दासले जानकारी दिए ।

उनले नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गरेर आफूले निर्माण गरेको खोपको परीक्षणको तयारी भएको जानकारी समेत गराएका छन् ।

Categorized in विज्ञान-प्रविधी