दोस्रो पर्यटन फोटो पत्रकारिता तालिम धनगढीमा सुरु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ४, बिहिबार
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु भएको छ ।
नेपाल पर्यटन बोर्ड (एनटीबि) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दीगो पर्यटन परियोजना (एसटीपी) ले तालीम सुरु गरेको हो ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कैलालीसँग सहकार्यमा तीनदिने तालिम सञ्चालन गरिएको हो ।
पर्यटन प्रवर्ध्दन, दृश्य अभिलेखन, ब्रान्ड प्रमोशन तथा स्थानीय समुदायको पर्यटन सहभागिता वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट करिब ३५ जना पत्रकार सहभागी छन् ।
तालीमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले तालिम प्रदेशकै पर्यटन अभियानलाई सुदृढ बनाउन कोशेढुङ्गा सावित हुने बताए ।
अध्यक्ष शाहले भने, “सुदूरपश्चिम धार्मिक तथा सांस्कृतिक पर्यटनको महत्वपूर्ण केन्द्र हो । यहाँका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गरिएको यो तालिम दीगो पर्यटनका लागि टेवा पुर्याउने छ ।”
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारको क्षमतावृद्धि र गुणस्तरीय सामग्री उत्पादनका लागि यस्ता तालिम आवश्यक रहेको बताए ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता पर्यटन प्रवद्र्धनको आधारभूत साधन भएको उल्लेख गरे ।
तालिमका सहभागीले फील्ड अभ्यासका क्रममा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु, घाँसेमैदान, प्राकृतिक आकर्षण र पर्यटन सम्भावनाहरू अवलोकन गर्दै ‘उच्चस्तरको फोटो–डोकुमेन्टेसन’ तयार गर्नेछन् ।
पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र सञ्चार रणनीतिबारे प्रशिक्षण दिएका थिए ।
फोटो पत्रकार तथा प्रशिक्षक सुनिल चुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सेना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फ्रेम निर्माण, तस्बिर कथा निर्माण, प्रकाश–छायाँको व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण सञ्चालन गर्नेछन् ।
कार्यक्रमको सहजीकरण एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए ।
यसअघि पहिलो संस्करण कोशी प्रदेशको विराटनगरमा तालिम सञ्चालन गरिएको थियो भने तेस्रो संस्करण गण्डकी प्रदेशको पोखरामा सञ्चालन गरिने बताइएको छ ।
Categorized in समाज




