महाअभियानको आम हड्ताल फिर्ता
SamacharDesk – बिराज | २०८२ मङ्सिर ६, शनिबार
दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले गर्ने भनिएको नेपाल बन्द अनिश्चितकालीन आम हडताल कार्यक्रम फिर्ता लिएको छ ।
आज महाअभियानको प्रतिनिधिसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा महाअभियानको अनिश्चितकालीन आम हडताल कार्यक्रम फिर्ता लिन सहमति भएको हो ।
महाअभियानका सचिव प्रेमदीप लिम्बु र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले विज्ञप्ती जारी गर्दै यो कुराको जानकारी दिएका हुन् ।
लिम्बु र खनालबाट जारी संयुक्त विज्ञप्तीमा मंसीर ७ गतेबाट हुने गरी घोषणा भएको नेपाल बन्द र अनिश्चितकालीन आम हडताल कार्यक्रम फिर्ता लिइ शान्तिपूर्ण कार्यक्रममा रुपान्तरण गर्ने सहमति भएको जनाइएको छ ।
वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरुका सन्दर्भमा विस्तृत छलफल भएको बताइएको छ ।
वर्तमान शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी अभियानले उठाएका जायज मुद्दाहरुको सम्वोधनका लागि सरकारले निरन्तर छलफल, वार्ता र सहजीकरण गर्दै जाने सहमति वार्तामा भएको भनिएको छ ।
अर्को चरणको वार्ता महाअभियानको नेतृत्वसहित यथाशिघ्र गर्ने सहमति पनि भएको छ ।





